शशिधर पराजुली
विराटनगर, मङ्सिर १० गते । कोशी प्रदेशको ७ जिल्लाका ९ स्थानमा यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारी तीव्र भइरहेका यी नौमध्ये ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुख पदमा एक मात्र उम्मेदवारी परेपछि निर्विरोध भइसकेको छ । यद्यपि, यसको घोषणा हुन भने बाँकी छ ।
बाँकी ८ मध्ये एक गाउँपालिका अध्यक्ष र सात वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि प्रमुख राजनीति दल, नेता तथा कार्यकर्ताहरूको ध्यान मोरङको ग्रामथान केन्द्रित रहेको देखिन्छ ।
कोशी प्रदेशमै एकमात्र पालिका अध्यक्ष पदमा निर्वाचन हुन लागेका कारण दल र नेताहरूले ग्रामथान गाउँपालिकाको निर्वाचनलाई जनमत सर्वेक्षणको रुपमासमेत लिएका छन् । त्यसैले ग्रामथानमा यतिबेला दलका उच्च तहका नेताहरूको दौडधुप बढेको छ । ग्रामथानमा हुन गइरहेको निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रमुख तीन राजनीतिक दलका नेताहरूले तीव्र तयारी गरिरहेका छन् ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, पूर्व अर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्यहरू डिला सङ्ग्रौला, भीम पराजुली, नेता अमृत अर्याल, प्रतिनिधि सभा सांसद डिगबहादुर लिम्बूलगायतका नेताहरूले ग्रामथानको निर्वाचनको कमान्ड विभिन्न ढङ्गबाट सम्हाल्दै आइरहनुभएको छ ।
यसैगरी, नेकपा (एमाले)ले पनि ग्रामथानमा हुन गइरहेको निर्वाचनलाई ठुलो प्रतिष्ठाको विषय बनाएको देखिन्छ । एमालेका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, जिल्लाका प्रभावशाली नेता विनोद ढकाललगायतका नेताहरू ढुक्कले ग्रामथान केन्द्रित निर्वाचन गतिविधिमा सहभागी भइरहनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले पनि ग्रामथानको निर्वाचनमा आफ्नो शक्तिशाली उपस्थिति देखाउन जोडबल गरिरहेको देखिन्छ । माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्यहरू सावित्रीकुमारी काफ्ले, अजम्बर काङ्माङ, सांसद अमनलाल मोदी, शिवकुमार मण्डल, कुशल लिम्बू, प्रदेशसभा सांसद तथा पूर्वमन्त्री गणेश उप्रेती, पूर्व राज्यमन्त्री विजय विश्वास थारुलगायतका उच्च नेतृत्व नै ग्रामथानमा केन्द्रित भएर चुनावी गतिविधि सञ्चालन गरिरहनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी आदिले पनि आफ्नो शक्ति ग्रामथानमा केन्द्रित गरेर निर्वाचन प्रचारमा खटिएका कारण ग्रामथानको चुनावी माहौल रोचक देखिएको छ ।
यतिबेला दलहरूको ग्रामथानमा घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्याइसकेका छन् । माओवादी केन्द्रले सोमबार वडा नम्बर १ बाट घरदैलो कार्यक्रमलाई अन्तिम गर्दैछ । यस्तै, कांग्रेस र एमालेले मङ्गलबार अन्तिम घरदैलो कार्यक्रम गरेर थप तयारीमा जुट्दै छन् ।
अघिल्लो मत परिणामको अवस्था
लामो समयदेखि ग्रामथान कांग्रेसको बलियो जनाधार भएको क्षेत्रको रूपमा चिनिन्छ । साबिकको लखन्तरी, झोराहाट, सिसवनी, तेतरिया र बनिगामा गाविस विगतमा कांग्रेसको बलियो उपस्थिति रहने गरेको थियो । ग्रामथानमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका शिवनारायण माझी अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
त्यसबेला विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले अध्यक्ष बाहेक उपाध्यक्ष र अधिकांश वडाध्यक्ष पद जितेको थियो । कांग्रेस तेस्रो स्थानमा रहेको थियो भने माओवादी केन्द्र १८ सय मतसहित चौथो स्थानमा थियो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र कांग्रेसबिच एकता भएपछि २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ग्रामथानमा कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार भारी मतसहित निर्वाचित हुनुभयो । गच्छदारले सात हजार ६०५ मत प्राप्त गर्नुभएको थियो । निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले छ हजार ९३ मत प्राप्त गर्नुभएको थियो ।
माओवादी केन्द्रका उम्मेदवार विजयकुमार सरदारले दुई हजार ७२७ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको थियो । २०७४ सालको निर्वाचनमा भन्दा माओवादी उम्मेदवारले नौ सय मत बढाएको थियो । उपाध्यक्ष भने नेकपा एमालेका गुणवतीदेवी थारु ६ हजार १२३ मतका साथ विजयी बन्नुभयो । कांग्रेसका भुखनीकुमारी माझीले पाँच हजार ४४८ र माओवादी केन्द्रका उम्मेदवार अलिसा सरदारले चार हजार ७५१ मत प्राप्त गर्नुभएको थियो । यस आधारमा उपाध्यक्ष पदमा अघिल्लो निर्वाचनमै तीन प्रमुख दलहरूबिचमा प्रतिस्पर्धा भएको देखिन्छ ।
वर्तमान अवस्था र चुनावी माहौल
ग्रामथानमा चुनावी माहौल उत्कर्षमा पुगेको छ । गाउँटोल र चोकबजार विभिन्न दलका चुनाव चिह्न अङ्कित झन्डाले सजिएका छन् । उपनिर्वाचनका लागि विभिन्न १५ वटा राजनीतिक दल र एक स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएर गाउँगाउँमा प्रचारप्रसार गरिरहेका छन् ।
कुन दलको के अवस्था ?
ग्रामथानमा बलियो रहेको कांग्रेसलाई यस पटक ग्रामथानमा जित कायम राख्ने सबैभन्दा धेरै चुनौती छ । कांग्रेसले तत्कालीन सिसवनी गाविसका अध्यक्ष तथा कांग्रेसका पाका नेता बलराम सरदारलाई उम्मेदवार बनाएको छ । उहाँको सरलपनबाट पुराना पाका मतदाताहरू प्रभावित पनि देखिन्छन् ।
तर २०७९ सालको निर्वाचनमा सहजरुपमा चुनावी मैदानमा खटिएको कांग्रेसमा यस पटक एकमना एकता कायम देखिँदैन । ३० महिना अघिसम्म कांग्रेसमा रहेका स्थानीय तीन जना नेताहरू यतिबेला कांग्रेससँगै प्रतिस्पर्धा गर्न फरक दलबाट उम्मेदवार बनेका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका तुलसीराम विश्वास, नमोनारायण माझी र नवीनकुमार विश्वास तीनै जना कांग्रेसमा लामो समय काम गरेका पूर्वकार्यकर्ता हुनुहुन्छ । यसले गर्दा कांग्रेसलाई आफ्नो विगतको मत जोगाइराख्ने चुनौती बढी छ ।
कांग्रेसबाट तत्कालीन लखन्तरी गाउँपालिकाको अध्यक्ष र २०७४ मा ग्रामथान १ का वडाध्यक्ष भइसक्नुभएका नमोनारायण माझी अहिले माओवादी केन्द्रबाट उम्मेदवार बनेर चुनाव प्रचारमा जुट्नुभएको छ । आफ्नो वडामा लोकप्रिय र प्रभावशाली देखिनुहुने माझीले कांग्रेसको धेरै मत प्रभावित पार्नसक्ने स्थानीय बद्रीनारायण चौधरीको अनुमान छ । त्यसबाहेक अहिले जनतामा माओवादीप्रतिको आकर्षण स्वतस्फुर्तरुपमा बढेको र घरदैलो कार्यक्रमका क्रममा त्यो स्पष्ट अभिव्यक्त भएको माओवादी ग्रामथान निर्वाचन परिचालन समितिका इन्चार्ज कुशल लिम्बूको दाबी छ । उहाँले भन्नुभयो, ‘‘यस पटक ग्रामथानमा माओवादीलाई रोक्न अरू दलका लागि निकै मुस्किल छ, ठुला दुई दल यस पटक दोस्रो र तेस्रो स्थानका लागि तयार बन्नै पर्छ ।’’
गत निर्वाचनमा उपाध्यक्षले प्राप्त गरेको मतलाई जोगाउँदै कांग्रेस र एमालेबाट केही मत तान्न सकेको खण्डमा माओवादीको उक्त दाबी पूरा नहोला भन्न सकिने अवस्था पनि छैन ।
यस्तै, एमालेले युवा उम्मेदवार तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा एमालेले गाउँपालिका अध्यक्ष जितेको र २०७९ मा सातमध्ये पाँच वडाध्यक्ष र उपाध्यक्ष पदमा विजय प्राप्त गरेका कारणले पनि एमालेले आफू जित्ने दाबी गर्नु नितान्त स्वाभाविक देखिन्छ । तर यस उपनिर्वाचनमा एमालेबाट अध्यक्षका लागि गाउँ कमिटीबाट नाम सिफारिस भएर पनि पार्टीको उम्मेदवार बन्न नसकेपछि नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । जसले एमालेको मत प्रभावित हुन सक्ने अनुमान गर्नेहरू पनि भेटिएका छन् ।
यस आधारमा ग्रामथानमा एक सातापछि हुन लागेको उपनिर्वाचनमा प्रमुख तीन दलमध्ये कसैले पनि जित्न सक्ने गरी त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था बनेको देखिन्छ ।