• २३ पुस २०८१, मङ्गलबार

बीउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड

blog

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलनको उद्घाटन गर्नुहुँदै । तस्बिर : मन्त्री अधिकारीको सचिवालय

काठमाडौं, मङ्सिर १० गते । काठमाडौंमा १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 

सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभूत स्रोत बीउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिनुभयो । आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायहरुका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।


नेपालका रैथाने बीउबिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुहुँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ बिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले विदेशी बीउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि उल्लेख गर्नुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु, विज्ञ, तरकारी बीउ उत्पादकहरु र कृषकहरुको सहभागिता छ ।

सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउसम्बन्धी कानुनका बारेमा छलफल हुने बताइएको छ ।