• ८ मंसिर २०८१, शनिबार

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

blog

पेशावर, मङ्सिर ८ गते । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन् ।

स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । “शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ । पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,” सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले एएफपीसँग भन्नुभयो । 

एक समय अर्ध स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरुले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ । कुर्रममा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीसँग भन्नुभयो, “स्थानीय समय अनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो ।”

“गोली चलेपछि उनीहरुले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए । प्रारम्भिक रिपोर्टअनुसार तीन सय भन्दा बढी पसल र एक सय भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय सुन्नीहरुले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेको उहाँले बताउनुभयो । शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ । रासस/एएफपी