• ८ मंसिर २०८१, शनिबार

‘मधेसलाई भ्रष्टाचारमुक्त बनाउनेगरी काम गरेका छौं’

blog

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह जनमत पार्टीको कार्यालय उदघाटनपछि सम्बोधन गर्नुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, मङ्सिर ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले भ्रष्टाचारमुक्त मधेश बनाउनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । जनमत पार्टीको नगर कार्यालयको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनु भएको हो ।

आफू मुख्यमन्त्री हुनुभन्दा अगाडिको मधेस सरकारले ८७ अर्व बजेट चलाउन बेथिति विकृति भित्र्याएर भ्रष्टाचारलाई प्रश्रय दिएको उहाँले आरोप लगाउनुभयो ।

सुशासनको प्रत्याभूति दिलाउन तमाम वेथिति र बिचौलियाको बिगबिगीलाई समाप्त पार्न मधेस प्रदेश सरकार काम गरिरहेको उहाँको दावी छ । मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘प्रदेश सरकारले ६४ वटै प्रदेशसभाको क्षेत्रमा गौरवको योजनाहरु सफल बनाउन बजेट विनियोजन गरेको छ । यसअघि कार्यकर्ता पाल्न वडा स्तरसम्म बजेट विनियोजन गरेर वेथिति भित्र्याएको थियो ।’ 

अहिले प्रत्येक गाउँपालिकामा ८५ लाख नगरपालिकालाई एक करोड, उपमहानगरपालिका लाई एक करोड २५ लाख र महानगरपालिकालाई एक करोड ७५ लाख बजेट उपलब्ध गराइएको उहाँको भनाइ छ । 

मधेश प्रदेशमा रहेको खोलानालाबाट अवैद्य रुपमा निकासी भइरहेको गिटी बालुवा ननिकाल्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आइएको मापदण्ड विपरित हुने गिटी वालुवा निकासी कार्य गर्न नहुने प्रदेश सरकारको निर्देशन छ ।’ 

लहानको खुटी नहरको विषयमा प्रदेशसभामा उठेको विषलाई आफूले गम्भीरतापूर्वक लिएर निरीक्षण गरेको उहाँले बताउनुभयो । खुटी नहरबाट ९३५ विघा जमीनमा सिँचाइको लागि प्रदेश सरकारबाट हेडवक्र्स निर्माण भएको अवस्थामा नहरमा लहान नगरपालिकाले सहरी क्षेत्रमा ड्रेन बनाउने कार्य बन्द गरेर नहरलाई नहरकै रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरु बालेश्वर यादव, सुदिपराज कुशवाहा रामेन्द्र मण्डल र जिल्ला अध्यक्ष विनोदकुमार यादव लगायतका नेताहरुले सिरहा जिल्लाको अवस्था र समस्याबारे ध्यान आकर्षण गराउनु भएको थियो ।