• ७ मंसिर २०८१, शुक्रबार

पत्रकार भुलको हत्यामा संलग्नलाई कारवाहीको माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सीर ६ गते । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । बिहीबार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै हत्या सुनियोजित भएको तथ्य सार्वजनिक गरेको छ । 

संघले घटनाको विस्तृत छानविन गरी दोसीहरुलाई कानुनको दायरामा ल्याई कडा कारवाही गरिनु पर्ने, पीडित परिवारलाई तत्काल राहत र न्यायिक क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।  

कैलालीको गौरीगंगा नगरपालिका –११ कान्तिपुरका सुरेश भुललाई स्थानीयले बाख्रा चोरको आरोपमा कुटपीट गर्दा उपचारको क्रममा कात्तिक २४ गते राति मृत्यू भएको थियो । 

संघका अध्यक्ष एवं पूर्व सांसद विनोद पहाडीले भन्नुभयो, “बाख्रा भेटिएपछि सुरेश भुलले आफ्नै पसल अगाडि बाँधेर राखिदिएका थिए । तर स्थानीयले चोरको आरोप लगाएर ३० हजार रुपियाँ जरिवाना तिर्दा पनि उनको हत्या भयो । घटना सुनियोनित देखिन्छ ।”  

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेपछि संघले काठमाडौँबाट मिसन टोली पठाएर स्थलगल अध्ययन गरेको थियो । अध्यक्ष विनोद पहाडीको नेतृत्वमा गएको पत्रकारको मिसन टोलीले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो ।  

अध्यक्ष पहाडीले भन्नुभयो, “घटना निकै दुःखदायी छ । निर्दोषलाई कुटेर मारिएको छ । प्रहरी प्रशासनको गैरजिम्मेवारीपन देख्दा न्याय पाउनमा आशंका छ । हामी दोषीलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिको माग गर्दछौं ।” 

संघका अनुसार पीडित परिवारको किटानी जाहेरी दिएपछि आठमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –११ का जंगबहादुर भुल, विशाल विक, दिनेश विक, दिनेश भुल, बिस्ना भुल, रमा रावल र धर्मसिँह विक हुनुहुन्छ । किटानी जाहेरी मध्येका गौरीगंगा नगरपालिका–९ का पवन बोगटी फरार छन् । भुल संघको कैलाली जिल्ला सहसचिव हुनुहुनथ्यो ।