• ७ मंसिर २०८१, शुक्रबार

यु–१९ एसिया कप तयारी

नेपालले जित्यो यु–१९ अभ्यास सिरिज

blog

नेपाली यु–१९ टोली ।

काठमाडौँ, मङ्सिर ६ गते । एसिसी यु–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग खेलिएको पाँच खेलको सिरिज नेपालले जितेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले कर्नाटकलाई सात विकेटले हरायो । नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो । 

जितका लागि एक सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवले अर्धशतक बनाउनुभयो ।

आकाशले अविजित ८९ रन बनाउनुभयो । उहाँले एक सय पाँच बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यमनले ५० रन बनाउनुभयो । अर्जुन कुमालले २१ रन बनाउनुभयो । बलिङमा कर्नाटकका प्रणव अश्वथले दुई तथा तेजसले एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । कर्नाटकका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन बनाउनुभयो । इसा पुथिगेले ३८ र ओपनर गगन रावले ३४ रन बनाउनुभयो ।

बलिङमा नेपालका हेमन्तले तीन विकेट लिनुभयो । यसअघि नेपालले पहिलो खेल सात विकेट र तेस्रो खेल एक सय २१ रनले जितेको थियो । कर्नाटकले दोस्रो खेल एक विकेट र चौथो खेल पाँच विकेटले जितेको थियो । 

यु–१९ एसिया कप मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुनेछ ।एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र  श्रीलङ्का रहेको छ ।

नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ।