• ७ मंसिर २०८१, शुक्रबार

जाडो छल्न आए पाहुना चरा

blog

चितवनका विभिन्न स्थानमा देखिएका चरा । तस्बिर : शालिग्राम नेपाल

 चितवन समाचारदाता

चितवन, मङ्सिर ६ गते । जाडो मौसम सुरु भए पनि चितवनसहित नेपालका विभिन्न स्थानमा बाहिरी देशबाट पाहुना चरा आउन थालेका छन् । अन्य देशमा धेरै जाडो बढेपछि चिसो छल्न नेपालमा चरा आएको चराविज्ञ डा. हेमसागर बरालले जानकारी दिनुभयो । धेरै जसो चरा आइसकेका र केही सङ्ख्यामा मात्र नेपाल आउन बाँकी रहेको विज्ञ बरालले बताउनुभयो । यसरी नेपाल आएका चरा चितवन, शुक्लाफाँटा निकुञ्ज क्षेत्र, बर्दिया, पोखरा, हिमाली केही भाग, कपिलवस्तु, कोशी क्षेत्रलगायतमा आएको जानकारी उहाँले दिनुभयो । 

आगन्तुक चराका रूपमा आएका चरा नेपालमा केही समय बसेर पुनः फर्किने गरेका छन् । यसरी आउने चरामा हाँस प्रजातिका दुई दर्जनभन्दा बढी, पानीमा बस्ने प्रजातिका, खुट्टा लामो हुने प्रजातिका र क¥याङकुरुङलगायतका चरा रहेको उहाँले बताउनुभयो । नेपालमा लोप हुने अवस्थामा पुगेको बगाले बगेडी चरा पोखरामा देखिएको भन्दै उहाँले केही चराविज्ञले कुन कुन जातिका चरा देखा परेका छन् भनेर जानकारी लिन थालेको बताउनुभयो । हिमाली क्षेत्र, पोखरा, पश्चिम नेपाल र चितवनमा सामान्य जानकारी र सङ्ख्याका विषयमा विवरण सङ्कलन गर्दै गरेको उहाँले बताउनुभयो । 

नेपालबाहिर अजरबैजान, पूर्वी युरोप, दक्षिण कोरिया, साइबेरिया, चीन, रुसलगायतबाट चरा आएको डा. बरालले जानकारी दिनुभयो । नेपाल पन्छीविज्ञ सङ्घ बागमती प्रदेशका संयोजक वासु बिडारीले चितवनको राप्ती, नारायणी र रिउखोलामा ४० भन्दा बढी प्रजातिका चरा आइसकेको जानकारी दिनुभयो । अहिले नदी किनारमा आगन्तुक चरा देखिन थालिसकेका छन् । यीसँगै चरा हेर्नका लागि आउने पर्यटकसमेत बढेका छन् । नेपाल आएका विदेशी चितवन आउने र उनीहरूको रोजाइ वन्यजन्तुसँगै चरा अवलोकन पनि रहेको बताउनुभयो । चरा हेर्नका लागि निकुञ्जको बटुली पोखरी चर्चित रहेको उहाँको भनाइ छ । विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदी हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उहाँले जानकारी दिनुभयो । यो समयमा १५० देखि १६० प्रजातिका चरा चितवन आउने गरेका छन् । 

अहिले आएका चराले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी सुरु भएसँगै यी चरा फर्कने गर्छन् । तराईको कोशीटप्पुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको बताउँदै उहाँले चरा हेर्नका लागि नारायणी नदी, राप्ती नदी सबैभन्दा उपयुक्त रहेको जानकारी दिनुभयो ।