• ७ मंसिर २०८१, शुक्रबार

बाह्र अर्ब बहत्तर करोडको विद्युत् निर्यात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन–कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपियाँ ६३ पैसा छ । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । 


सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन । काबेली कोरिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति गर्दा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणको दाबी छ । यसबाट चालु आवमा राखिएको करिब ३० अर्ब रुपियाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । 

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपियाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपियाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।