• ७ मंसिर २०८१, शुक्रबार

‘ढोँगी प्रवृत्ति त्यागौँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँको राजनीतिले देश गलत दिशातर्फ उन्मुख हुने बताउनुभएको छ । बुधबार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा उहाँले नेपाली समाज ढोँगी प्रवृत्तिले ग्रसित भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो समाज एकदम ढोँगी भयो । मैले केही बोलेँ कि तत्कालै ताली बज्छ । फेरि हाम्रो समाज आजको दिनलाई मात्र सम्झन्छ, भोलिको दिन के काम गर्नु पर्छ भन्ने कुरा बिर्सिहाल्छ । अहिले हामी जस्ता नेताको काम पनि त्यही भइरहेको छ । त्यसकारण पनि म यो ढोँगी प्रवृत्ति त्यागौँ भन्छु ।”

मन्त्री गुरुङले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताउनुभयो । यहाँ सही पात्र नपाउँदा देश विकास हुन नसकेको हो ।

उहाँले चलचित्र क्षेत्रको विकासका लागि नयाँ ऐन ल्याउने तयारी भइरहेको पनि बताउनुभयो । उहाँले नयाँ चलचित्र ऐन, २०८१/०८२ भित्र ल्याइसक्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “चलचित्र क्षेत्रलाई विश्व बजारमा पुर्‍याउनका लागि नयाँ कानुनको आवश्यकता छ र हामी त्यो कार्यमा जुटिरहेका छौँ ।”