• ७ मंसिर २०८१, शुक्रबार

थाकसको अध्यक्षमा प्रेमीलाल सर्वसम्मत

blog

नवनिर्वाचित अध्यक्ष प्रेमीलाल चौधरीसहित थाकसका प्रतिनिधिहरु ।

काठमाडौं, मंसिर ५ गते । थारु कल्याणकारिणी सभा (थाकस) को अध्यक्षमा प्रेमीलाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसअघि उहाँ महामन्त्री हुनुहुन्थ्यो । रुपन्देहीको भैरहवामा जारी २३ औं महाधिवेशनले उहाँलाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।

त्यसैगरी महामन्त्रीमा मिनराज चौधरी सर्वसम्मत हुनुभएको छ । यसअघि उहाँ सहमहामन्त्री हुनुहुन्थ्यो । बाँकी पद उपाध्यक्ष, सहमहामन्त्रीसहित सदस्यहरुको टुङ्गो लाग्न बाँकी रहेको नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो । सहमतिको प्रयास जारी रहेको र १५ दिनभित्र सबै पदका उम्मेदवारका लागि निर्णय भइसक्ने म्यान्डेट बन्दसत्रले दिएको उहाँले जानकारी दिनुभयो ।  

अध्यक्षका अन्य आकांक्षीहरु देवीप्रसाद चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत बनाउने प्रयास भएको छ । महिला उपाध्यक्षमा रुक्मिणी चौधरीको नाममा सहमतिको प्रयास जारी रहेको बताइएको छ । थाकसमा ६ जना उपाध्यक्ष रहने व्यवस्था छ ।  

दुई जना महिला उपाध्यक्षमा सावित्रा चौधरी तथा हरिदेवी चौधरीको नाम मोटामोटी सहमति नजिक रहेको बताइएको छ । ६ जना उपाध्यक्षका लागि १३ जनाको उम्मेदवारी परेको छ । 

त्यस्तै, चूर्णबहादुर चौधरी पुनः कोषाध्यक्षमा दोहाेरिने सम्भावना रहेको बताइएको छ । राजेन्द्र चौधरी (चितवन) ले  पनि कोषाध्यक्षमा दाबी गर्नुभएको छ । आजसम्म बन्दसत्रमा सहमतिको प्रयास भइरहेको र केही पदमा सहमति हुने विश्वास नवनिर्वाचित अध्यक्ष चौधरीले गर्नुभयो । थाकसमा अहिले मनोनितसहित ६१ सदस्यीय कार्य समिति रहने वैधानिक व्यवस्था छ ।