• ७ मंसिर २०८१, शुक्रबार

उर्वर युगतिर चलचित्र

blog

विश्वमा चलचित्र निर्माण हुन थालेको झन्डै छ दशकपछि नेपाली भाषामा चलचित्र बन्न थाले । विसं २००८ भदौ २९ गते पहिलो नेपाली भाषाको चलचित्र सत्यहरिश्चन्द्र बन्यो । नेपालभित्र चलचित्र निर्माण गर्ने कुनै पूर्वाधार थिएन । सात सालको परिवर्तनले नेपाली भाषाप्रति बाहिर बस्ने नेपाली तथा नेपालीभाषीमा लगाव बढ्नु स्वाभाविक थियो । डिबी परियारले कोलकाता (तत्कालीन कलकत्ता) मा निर्माण गरेको सत्यहरिश्चन्द्रले नेपाली भाषामा पनि चलचित्र निर्माण हुन सक्ने आँट दियो । नेपालभित्रैबाट भने २०२१ साल असोज २२ गते आमा चलचित्र सार्वजनिक भयो । यो सरकारी तवरमा बनेको चलचित्र सूचना विभागले निर्माण गरेको थियो । त्यसको दुई वर्षपछि मात्र निजी क्षेत्रबाट माइतीघर बन्यो । चलचित्र विकासका निम्ति संस्थागत प्रयाससँगै अनेक चलचित्र बन्न थाले तर पनि नेपाली चलचित्रमा बाहिरी प्रभावको दबदबा नै थियो । यो क्षेत्र अब्बल आयको क्षेत्र बनेको थिएन ।

सीमित नेपाली चलचित्रले मात्र दर्शकको मन छुन सकेको विगतमा अहिले भने नयाँ बहार आएको छ । नेपाली चलचित्रले दर्शकको मन जित्न थालेका छन् । राम्रो आम्दानी गर्दै चलचित्र उद्योग उर्वर युगतिर अग्रसर हुँदै छ । नेपाली चलचित्र अति सीमित दिन मात्र चल्ने अवस्थाको लामो शृङ्खला तोडिँदै छ । विगतमा हिन्दी चलचित्रको विशाल बजारले नेपाली चलचित्र बजारलाई लामै समय प्रभावित पारिरह्यो । उम्दा भनिएका स्वदेशी चलचित्रले पनि राम्रो मुनाफा पाउन सकेनन् । अहिले नेपाली चलचित्रमा नवीन युग देखिनु चलचित्र उद्योगका निम्ति सुखद हो । अझ मेहनत गर्ने अवसर हो ।

टेलिभिजन तथा सामाजिक सञ्जालको डिजिटल युगमा दर्शक चलचित्र हलसम्म पुग्नु वास्तवमै कठिन समय हो । त्यसैले कतिपय चलचित्र भवन यताका दशकमा भत्किए । त्यहाँ अनेक खालका व्यापारिक महल बने । चलचित्रले दर्शक नै पाउन कठिन हुँदा यो स्वाभाविक थियो । विषम परिस्थितिमा पनि नेपाली चलचित्र बन्न भने बन्द भएनन् । लगानीकर्ता तथा निर्माता अनि कलाकारको प्रयास निरन्तर नै रह्यो । निरन्तर प्रयास गर्नेको कहिल्यै हार हुँदैन भने झैँ भएको छ अहिले । नेपाली चलचित्रले दर्शकको मन छुन थालेको छ । यता केही समयदेखि दर्शकको मन तान्न थालेसँगै नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । कतिपय चलचित्र अहिले चाहेको दिन हेर्न जान पाउने अवस्था छैन । एक सातासम्मको पर्खाइपछि बल्ल टिकट पाउने अवस्थासमेत रहेको देखिएको छ ।

यताका दिनमा राम्रै गरी नाम चलेको चलचित्र भने ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो । नेपाली ग्रामीण परिवेशमा अभिभावकको दुःख, परिश्रम र पीडा बटुलेर पर्दामा उतारेको यो चलचित्रले नेपाली परिवेशको सच्चा सुवास दिएको समीक्षा भइरहेको छ । यो चलचित्रले हालसम्मकै सबैभन्दा बढी व्यापार गरेको छ । बक्स अफिसका अनुसार नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले २७ करोड रुपियाँको व्यापार गरेको छ । त्यसै गरी ‘छक्का पञ्जा ५’ ले १४ करोड ८८ लाख र ‘१२ गाउँ’ ले १९ करोड ३७ लाख रुपियाँको व्यापार गरेको छ । कुनै बेला नेपालभित्रै उच्च व्यापार गर्ने भारतीय चलचित्रको व्यापार अहिले खुम्चिएको छ । ‘सिङ्घम अगेन’ ले चार करोड छ लाख र ‘भुलभुलैया–३’ ले चार करोड २८ लाख रुपियाँको व्यापार गरेका छन् । बाहुबलीले कुनै बेला नेपालभित्रैबाट २३ करोड रुपियाँको व्यापार गरेको थियो । यो परिवेशले अब नेपालभित्र स्वदेशी चलचित्रको बजार बढ्दै गएको स्पष्टै देख्न सकिन्छ ।

चलचित्र चल्न र चलाउनका निम्ति मात्र निर्माण गरिनु हुन्न् । कथावस्तु, अभिनय, द्वन्द्व, सङ्गीतसँगै गहन अध्ययनबाट परिष्कृत हुनु पर्छ । नेपाली चलचित्र सतही तवरले बन्छन् र केही मरमसलाका सूत्र प्रयोग हुन्छन् भन्ने आमदर्शकदेखि समीक्षकसम्मको एकै खालको बुझाइ थियो तर यो शास्त्रीय बुझाइमा अब विराम लागेको छ । नेपालमा भिन्न स्वाद र कथाका चलचित्र बन्छन् । अक्कलबिनाका नक्कलमा मात्र नेपाली चलचित्र छैनन् भन्ने नयाँ र सकारात्मक सन्देश प्रभाव हुँदै छ । नेपाली चलचित्रको श्रीवृद्धिका निम्ति अब धेरै पूर्णबहादुरको सारङ्गी बन्नु पर्छ । पारखले भरिपूर्ण कलासँगै नेपाली आर्थिक, सामाजिक, सांस्कृतिक विविधता र गहिराइलाई प्रतिविम्बित गर्न सक्ने कथावस्तुले चलचित्रलाई व्यापक दशर्कका सामु पु¥याउँछ । भूमण्डलीकृत विश्वको अहिलेको परिवेशमा नेपाली समुदाय संसारभर छरिएका छन् । अब्बल चलचित्रले अब संसारभर व्यापार गर्न सक्छ, नेपाली सिमानाभित्र मात्र खुम्चनु पर्दैन ।