काठमाडौं, जेठ ३ गते। प्रतिनिधिसभाको बैठक मङ्गलबारबाट सुरु भएको छ। बैठकको पहिलो दिन आज आठ अध्यादेश पेश भएको छ। 
गृहमन्त्री बालकृष्ण खाणले बैठकमा तीन वटा अध्यादेश पेश गर्नुभएको छ। गृहमन्त्री खाणले ‘‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, ‘‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’’ र ‘तेजाब तथा अन्य घातक रासायनीक पदार्थ (नियमन) अध्यादेश, २०७८’’ पेश गर्नुभएको छ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले “औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” पेश गर्नुभयो। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८” पेश गर्नुभएको छ। 
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” पेश गर्नुभएको छ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद् पुष्पा भुसाल (गौतम)ले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) लाई निलम्बन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँका उक्त प्रस्तावलाई सांसद् देवप्रसाद गुरुङ र जीवनराम श्रेष्ठले समर्थन गर्नुभएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसद् भुसालले प्रस्तुत गर्नुभएको उक्त नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको छ।
यसैगरी, अर्थमन्त्री श्री जनार्दन शर्माले “आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ। 
सभामुख सापकोटाले आर्थिक वर्ष २०७८/८० लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिता सम्बन्धनमा कर प्रस्तावबाहेक माथिका छलफल जेठ ४ र ५ गते हुने जानकारी दिनुभयो। बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले एमालेले संसद अवरुद्ध नगर्ने जानकारीसमेत गराउनुभएको छ ।
प्रतिनिधसभाको अर्को बैठक जेठ ४ गते बुधबार दिउँसो १ बजे बस्नेछ।
 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                