• ७ मंसिर २०८१, शुक्रबार

सम्बन्ध थप बलियो बनाउँछु : राजदूत ओली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ५ गते । नेपालका तर्फबाट चीनका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ओलीले दुई छिमेकी मुलुकको सम्बन्ध थप प्रगाढ बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ । 

गोरखापत्रसँग मङ्गलबार कुराकानी गर्दै राजदूत ओलीले नेपाल–चीनबिचको द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धको आयामलाई फराकिलो पार्दै समृद्ध नेपालका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । द्विपक्षीय सम्बन्धलाई पञ्चशीलको सिद्धान्तका आधारमा रहेर थप प्रगाढ बनाउने उहाँले बताउनुभयो । 

पदभार ग्रहणका लागि उहाँ बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीन पुगेपछि आफ्नो पहिलो कार्यका रूपमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको आसन्न चीन भ्रमण सफल बनाउन गृहकार्य थाल्ने जानकारी दिनुभयो । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्मका लागि चीनको राजकीय भ्रमणमा जानुहुने बताइएको छ । यद्यपि भ्रमणको औपचारिक मिति तोकिन भने बाँकी रहेको छ । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण सफल बनाउन सरकारले थालेको गृहकार्यसँगै आफूले सकेको पहल गर्ने छु ।” उहाँका अनुसार नेपालको अहिलेको प्रमुख प्राथमिकता भनेको आर्थिक विकासै हो । आर्थिक विकासको विभिन्न क्षेत्रमा कसरी पहल गर्न सकिन्छ, त्यसमा प्रयास गर्नैपर्ने बेला छ । त्यसका लागि पर्यटन सेवाको विस्तार, आयात निर्यातको वृद्धिमा सुधार गर्नु पर्छ । चीन प्रविधिको विकासमा विश्वमै माथि पुगेको देश हो । ती प्रविधिलाई नेपाल भिœयाएर विकासका लागि प्रयोग गर्ने र बढीभन्दा बढी फाइदा लिने कार्यमा जोड दिने उहाँले औँल्याउनुभयो । 

चीनसँग भएका बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) लगायत विकाससम्बद्ध सम्झौता र साझेदारीतर्फ उहाँले सरकारले लिएको नीतिलाई कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नर्थ–साउथ कनेक्टिभिटीका लागि यो सम्पर्क सञ्जाल हुँदै कोरलापास नाका, अरनिको राजमार्ग, हिल्सा सडक जोडेर देशको विकासमा बल पु¥याउन सकिन्छ, त्यसमा पहल गर्ने छु ।”