• ७ मंसिर २०८१, शुक्रबार

सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुँदै

blog

राष्ट्रिय सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्रको प्रस्तावित निर्माणस्थलमा सोमबार सभामुख घिमिरे ।

बिष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ४ गते । झापाको अर्जुनधारामा राष्ट्रिय सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को टोलीले स्थलगत अवलोकनसहित आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त हुने राय दिएपछि यसका लागि प्रक्रिया सुरु भएको हो । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा यहाँ अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुन लागेको बताइएको छ । सोमबार सभामुख घिमिरेले अर्जुनधारा नगरपालिकाले उपलब्ध गराउने भनिएको जग्गाको स्थलगत अवलोकनसहित सुपारी खेती गर्दैआएका किसानसँग छलफल गर्नुभयो । 

अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङ्गका अनुसार स्थानीय सरकारले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने बताउनुभयो । हामी आवश्यकताअनुसार जग्गा उपलब्ध गराउँछौ, उहाँले भन्नुभयो । यहाँ राष्ट्रिय स्तरको सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र बन्ने चर्चा सुरु भएपछि स्थानीय सुपारी उत्पादक किसानहरु धेरै खुशी भएको उहाँको भनाइ छ ।

नेपालमा झापा सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्ला हो । अर्जुनधारा नगरपालिकासहित आसपासका पालिकालाई सरकारले सुपारी जोनको रुपमा घोषणा गरेर सुपारी उत्पादनका लागि किसानलाई सहयोग गर्दैआएको छ । झापामा २०७५ सालकबाट सुपारी जोन सञ्चालनमा आएको हो ।

सुपारी बालीमा पूर्वाधार विकास, व्यावसायिकरण एवं प्रशोधनतर्फ केन्द्रित रही कार्यक्रमहरु सञ्चालन भएका छन् । सुपारी एक औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने एकदलीय वनस्पति भएको बताइन्छ । घर सजावटका लागि सुरु भएको सुपारी अहिले आएर व्यवस्थित रुपमा नगदे बालीको रुपमा चिनिएको छ । 

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, कार्यान्वयन ईकाइ भद्रपुर झापाका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रबिन्द्र सुबेदीका अनुसार अहिले सुपारीको खेती झापा, इलाम, मोरङ्ग र सुनसरी जिल्लामा व्यावसायिक रुपमा हुँदैआएको छ । २०७५ सालमा नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेची नगरपालिको वडा १, २, ३, ४ क्षेत्र समेट्ने गरी सुपारी जोन कार्यान्वयनमा आएको हो । झापा जिल्लामा पाइने प्रमुख सुपारीका जातमा मङ्गला, मोहितनगर, नलवारी, सुमङ्गला, स्वर्ण मङ्गला, मधुरमङ्गला रहेका छन् । सुपारी प्रतिहेक्टरमा १३ सय ५० वटासम्म विरुवा लगाइने गरेको सुवेदीले बताउनुभयो । रोपेको ५ वर्षदेखि उत्पादन दिन सुरु गर्छ ।  

कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट कम्तिमा पनि २० हजार कृषक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । जिल्लाभर २ हजार ६ सय ३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक ९ हजार ७ सय १० मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन हुँदैआएको छ ।