• ७ मंसिर २०८१, शुक्रबार

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल सम्मानपत्र प्रदान गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, मङ्सिर ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आइरहेको नेपाल संवत् हाम्रो देश नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताउनु भएको छ । 

मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले भन्नु भयो, ‘‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्णपूर्वक आबद्ध राख्न नेपाल संवत्को भूमिका महत्त्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।’’

राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘उहाँको उक्त ऐतिहासिक कार्य लोककल्याणकारी समाज निर्माणको दिशामा अघि बढ्नका लागि आजका दिन पनि हामी सबैका लागि प्रेरणादायी रहँदै आएको छ । राष्ट्रपति पौडेलले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग यति लामो समय समीप रहँदै आएको नेपाल संवत्को आरम्भ गर्नुहुने व्यक्तित्व श्री शंखधर साख्वाः लोककल्याण एवं परोपकारी भावनाका एक शिखर पुरुष हुनुहुन्छ । नेपाल संवत् स्थापनाको ऐतिहासिक सन्दर्भसँग सम्बन्धित उहाँको कर्मगाथा आफैमा गरिमामयी रहेको पाइन्छ ।’’

बागमती प्रदेशका पर्यटन संस्कृति मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो ।