• ७ मंसिर २०८१, शुक्रबार

उपनिर्वाचन : नलगाडमा कांग्रेस, एमाले र माओवादी केन्द्रबिच प्रतिस्पर्धा

blog

सहदेव बस्नेत
जाजरकोट, मङ्सिर ४ गते ।
 यही मङ्सिर १६ हुने उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकामा सरगर्मी बढेको छ । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनबाट उपप्रमुखमा कांग्रेसका सरिता सिंह निर्वाचित हुनुभएको थियो । नलगाड नगरपालिका उपप्रमुख सिंहको ०८० कात्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो ।

गत निर्वाचनमा सिंह पाँच हजार चार सय ६ मत पाएर विजयी हुनु भएको थियो भने निकटतम प्रतिस्पर्धी एमालेका सुनिता बोहोराले तीन हजार तीन सय ९३ मत पाउनुभएको थियो ।

त्यतिबेला पराजित उपप्रमुख बोहरालाई एमालेले पुनः उपप्रमुखमै उम्मेदवार बनाएको छ । अघिल्लो पटक कांग्रेसलाई सहयोग गरेको माओवादी केन्द्रले भने यस पटक देवका लामिछानेलाई उम्मेदवार बनाएको  छ  ।

यस अघिको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो ।

पहिलो पटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको थियो । २०७९ सालमा भएको निर्वाचनमा पनि नगरप्रमुख जितेका कारण माओवादी केन्द्रले आफ्नो गढ मान्ने गरेको छ । जसरी पनि शाखा जोगाउने गरी माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

त्यस्तै, कांग्रेसले पनि गत वर्ष नगर उपप्रमुख पद जितेको र २०६४ सालमा झिनो मतले पराजित भएका कारण पनि निर्वाचनमा विजयी हासिल गर्ने गरी चुनावी मैदानमा होमिएको छ । अहिले कांग्रेसले उम्मेदवार बनाएका इन्द्रा स्वर्गीय सरिताकै भाइ बुहारी हुनुहुन्छ । पारिवारिक सहानुभूतिको मत बटुल्न पनि कांग्रेसले उहाँलाई उम्मेदवार बनाएको हो ।

त्यस्तै, एमालेबाट उम्मेदवार बन्नुभएको बोहरा योसहित तेस्रो पटक चुनावी मैदानमा होमिनुभएको छ । गत चुनावमा दुई पार्टीले गठबन्धन गरेर जिते पनि एक्लाएक्लै लड्दा आफू अगाडि आउने बोहराको दाबी छ ।