• ७ मंसिर २०८१, शुक्रबार

सडकको क्षमताभन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौँ : मन्त्री दाहाल

blog

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, मङ्सिर ४ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकको क्षमताभन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

मन्त्री दाहालका अनुसार ४९ टनभन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताउनुभयो । उहाँले ४९ टनभन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्णरुपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशको सडकलाई मध्यनजर गरेर ४९ टनभन्दा बढी भार बोकेर सडकमा गाडी हिँड्न नपाउने भन्ने एउटा कार्यविधि बनाएका छौँ । तर त्योभन्दा बढी हुँदा के गर्ने भन्ने सन्दर्भमा त्यति धेरै स्पष्टता छैन । जरिबाना गर्ने, जरिबाना गरिसकेपछि बाटोमा हिँड्न पाउने त पक्कै पनि हुनु हुँदैन । त्यसले गर्दा त्यसलाई पूर्णरुपले रोक लगाउँदै छौँ ।’’

छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरूलाई सिमानाकामै निरीक्षण गरी सडकको भार क्षमताभन्दा बढी बोक्न नदिने भनाइ उहाँको छ । उहाँले सरकारले अब कडाइका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानुनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गर्नुभयो ।

मन्त्री दाहालले सरकारले विकासका कामहरू अघि बढाउने हुटहुटी रहेको बताउनुभयो । उहाँले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।