• ७ मंसिर २०८१, शुक्रबार

पशुपालक किसानलाई सोलार वितरण

blog

फावाखोलाको हर्कटे क्षेत्रमा पशुपालन पेसामा संलग्न किसानलाई सोलार वितरण । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलाको हर्कटे क्षेत्रमा पशुपालन पेसा गर्दै आएका किसानलाई सोलार बत्ती वितरण गरिएको छ । रेड पान्डा नेटवर्क र हिमाली संरक्षण मञ्च नामक संस्थाले पशुपालक किसानलाई सोलार वितरण गरेको हो ।

चरन क्षेत्र (खर्क) का रूपमा रहेको हर्कटे क्षेत्रमा पशुपालन गर्दै आएका किसानलाई गोठमा बस्दा आवश्यक पर्ने उज्यालो बत्ती व्यवस्थापनमा सहयोग पुर्‍याउने गरी सोलार वितरण गरिएको बताइएको छ । विश्वमै दुर्लभ रेड पान्डा (हाब्रे) पाइने क्षेत्रका रुपासमेत हर्कटे क्षेत्रलाई चिन्ने गरिन्छ । सो क्षेत्रमा गोठ अर्थात् पशुपालन गर्दै आएका किसानले रेड पान्डा संरक्षणमा योगदानसमेत पुर्‍याउँदै आएका मूल्याङ्कन गरी सोलार वितरण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।

राईका अनुसार हर्कटे क्षेत्रमै पुगेर पशुपालन पेसा अँगाल्दै गोठमा रहेका किसानलाई सोलार वितरण गरिएको छ । रेड पान्डाको वासस्थान क्षेत्रमा गोठालाहरूले रेड पान्डा संरक्षणमासमेत सहयोग गर्दै आएकाले सोलार बत्ती वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार हर्कटे क्षेत्रमा पशुपालन पेसा अँगाल्दै आएका ११ जना किसानलाई एक सेटका दरले सोलार बत्ती वितरण गरिएको छ ।

सोलार सेटमा सोलार पाता, ब्याट्री र बल्ब उपलब्ध गराएको मञ्चका कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । पशुपालक किसानलाई वितरण गरिएको सोलारले गोठमा उज्यालो बत्ती बाल्नसँगै मोबाइल चार्ज गर्नलाई समेत सहज हुने भएको छ । किसानलाई उपलब्ध गराएको सोलार बत्ती प्रतिसेट करिब १३ हजार रुपियाँमा खरिद गरिएको पनि मञ्चले जनाएको छ ।