• ७ मंसिर २०८१, शुक्रबार

मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

blog

फाइल तस्बिर

चितवन, मङ्सिर ३ गते । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।

शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ ।

दैनिक १५० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । एक साता अघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो सङ्ख्या बढाइएको हो । वैद्यले भन्नुभयो, “आउँदो सातासम्म २०० जना पुग्छन् ।”

सडकका छ वटा पुलको काम भइरहेको छ । हुग्दिको पुलको भुइँको काम भइरहेको छ भने पाँचवटा पुलका पिल्लरसम्मको काम सकिएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । वैद्यका अनुसार अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गरिँदै छ । निर्माण कम्पनीले नक्साङ्कन लगायतका कारण काम ढिला भएको भए पनि अब तीव्र पारिने जनाएको छ । वैद्यले भन्नुभयो, “निरन्तर काम गर्न पाएको भए यतिबेला ४० प्रतिशत सकिन्थ्यो ।”

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यो खण्डमा विस्तारको काम भइरहेको छ । वैद्यका अनुसार विस्तार चार ढङ्गले गरिँदै छ । निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँहरूमा दुई लेन अर्थात् नौ मिटर फराकिला सडक बनाइँदै छ । उकालो ठाउँहरूमा तीन लेन अर्थात् १२ मिटरको हुनेछ ।

झन्डै एक दशमलव पाँच किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । बजार क्षेत्र कुरिन्टार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटार लगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदै छ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदै छ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इ विजय दरैका अनुसार चाडपर्व सकिएसँगै कामलाई तीव्र बनाइएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा– मुग्लिन सडकलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम गरिएको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएकाले प्रगति कम भएको दरैले जानकारी दिनुभयो ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआइ सिजी जेभीले चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नुपरेको उहाँको भनाइ छ । त्यसका कारण चाहेर पनि तीव्र गतिमा काम गर्न सकिएको छैन । रासस