• ७ मंसिर २०८१, शुक्रबार

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौती आउँछन् : सचिव मरासिनी

blog

राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, मङ्सिर ३ गते । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्नुहुँदै सचिव मरासिनीले यस्तो बताउनुभएको हो ।

उहाँले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचीमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भए पनि नेपालले खासै विकास गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरू आर्थिक रूपमा माथि पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौँ । तर मुलुक एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न सकेका थिएनौँ । नेपाल जस्तै अन्य मुलुकहरू आर्थिक रूपमा धेरै माथि पुगिसके । नेपाल एलडीसीमा केही सुधार हुन्छ भनेर बस्यौँ । धेरै फड्को मार्न सकेको देखिएन ।,’’ सचिव मरासिनीले भन्नुभयो, ‘‘आय वृद्धि नहुँदा पनि अन्य दुईवटा सूचकहरूमा सुधार भएकाले स्तरोन्नति हुन लागेका छौँ । स्तरोन्नति हुँदा नेपाललाई पुनः अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालीन बनाउने चुनौती छ ।’’

सचिव मरासिनीले नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताउनुभयो । उहाँले स्तरोन्नति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालीन बनाउनुपर्ने चुनौती रहेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको व्यापार र नवीनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताउनुभयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने भनाइ राख्नुभयो ।