• ७ मंसिर २०८१, शुक्रबार

हात्तीबाट असुरक्षित बन्दै दमकवासी

blog

झापामा जंगलमा हात्ती । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २ गते । झापाको दमक वडा २ र ३ जङ्गली हात्तीबाट धेरै नै प्रभावित बन्न थालेपछि हात्ती नियन्त्रणका लागि ठोस रूपमा कार्यक्रम ल्याउन आवश्यक देखिएको छ । 

हात्तीका कारण रातको समय निदाउन नसकिएको र घरबाट समेत निस्कन डर हुन थालेको स्थानीयले बताएका छन् । दमकको हात्ती प्रभावित क्षेत्रमा मात्र एक दशकको अवधिमा आधा दर्जनभन्दा बढी मानिसको ज्यान गइसकेको छ । वडा ३ का वडाध्यक्ष नवीन बरालका अनुसार नजिक रहेको हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट दिनहुँ बस्तीमा हात्ती निस्कने गर्दा स्थानीयको ज्यान नै असुरक्षित छ ।

हात्ती नियन्त्रणका लागि ठोस कुनै पनि योजना अहिलेसम्म ल्याउन नसकिएको र राँको तथा टर्च बालेर हात्ती धपाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो । परम्परागत रूपमा हात्ती धपाउने विधि नै अपनाइरहेका छौँ, उहाँले भन्नुभयो । अन्नबाली नष्ट गर्दै आएको हात्तीले आमनेसामने हुँदा मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो ।

दमकको फोहोर व्यवस्थापन गरिरहेको नेक्स्टइरा इनर्जिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार आफूहरूले फोहोर प्रशोधन गरिरहेको स्थानमा दैनिकजसो हात्ती आएर क्षति गर्ने गरेको छ । हात्तीको त्रासले रातभर मजदुर तथा कर्मचारीहरू डरले सुत्दैनन्, उहाँले भन्नुभयो ।

हात्ती प्रभावित क्षेत्रको मुख्य सडक तथा जङ्गल क्षेत्रको सडकमा बत्ती बाल्ने काम भएको भएता पनि हात्ती आउनेक्रम नरोकिएको वडा २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । हात्तीका कारणले ज्यान गुमाउनेको सङ्ख्या र क्षति हुनेक्रम बढ्दो अवस्थामा छ, उहाँले भन्नुभयो । 

हात्तीको आक्रमणबाट आइतबार बिहान एक जनाको ज्यान गएको थियो । दमक वडा ३ दीपज्योति चोक निवासी वर्ष ४६ का मीनबहादुर मदन भण्डारीलाई हात्तीले लखेटेर ज्यान लिएको थियो । छिमेकीको घरमा हात्ती आएको थाहा पाएर धपाउन  सहयोग गर्न आउनु भएका भण्डारीलाई हात्तीले पछारेपछि घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक नगरपालिका प्रमुख रामकुमार थापाका अनुसार हात्तीको समस्या समाधानका लागि ठोस रूपमा गर्न सकिने कामको विषयमा छलफल गरिनेछ । प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराएर आवश्यक कदम चालिने उहाँले जनाउनुभयो । जङ्गलसँग जोडिएको बस्तीमा हात्तीको जोखिम धेरै छ, उहाँले भन्नुभयो ।

हात्तीको विषयमा अध्ययन गरिरहनु भएका शङ्कर लुइँटेलका अनुसार केही वर्ष अघिसम्म धेरैजसो हात्तीहरू भारतबाट नेपाल प्रवेश गर्ने र केही समयपछि फर्कने गरे पनि लामो समयदेखि बसेकाहरूले हात्तीका कारण झापामा क्षति बढ्दो रहेको छ । हात्तीलाई नचलाउँदा र नजिस्क्याउँदा मानिसलाई सहजै आक्रमण नगर्ने भएकाले हात्तीलाई नजिस्क्याउन र नचलाउन आग्रह गर्नुभयो ।