• ७ मंसिर २०८१, शुक्रबार

गिद्धको संरक्षणमा रेस्टुरेन्ट

blog

नवलपरासी समाचारदाता 

पिठौली, मङ्सिर ३ गते । लोपोन्मुख गिद्ध संरक्षण गर्न २२ वर्षदेखि पूर्वी नवलपरासीको कावासोतीको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ । विगत आठ वर्षयता यहाँ जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा शोधकर्ता गिद्ध, तिनका प्रजाति, गिद्धको जीवनशैली र  वासस्थानका विषयमा अध्ययन गर्न आउने गरेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताउनुभयो । 

अहिले अवलोकनमा २० देखि ३० जनासम्म आउने गरेका छन् । अहिलेको यो समयमा गिद्ध घुम्ने मौसम भएकाले जटायु रेस्टुरेन्टमा गिद्धको सङ्ख्या बढदै गएको छ भने गिद्धलाई चाहिने आहारविहारको पनि यहाँ राम्रो व्यवस्थापन भएकोले पनि हरेक वर्षको असोजदेखि वैशाखसम्म धेरै गिद्ध यहाँ आउने गरेको चौधरीको भनाइ छ । एक वर्षयता मात्रै यहाँ २८ भन्दा बढी गिद्धको मृत्यु भएको छ । यस जटायु रेस्टुरेन्टले बिरामी परेका र खुला रूपमा अन्यत्र रहेका बिरामी गिद्धको उपचार गरिरहेको जानकारी चौधरीले दिनुभयो ।

गिद्धलाई खाना दिने दिन धेरैको सङ्ख्यामा देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ भने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गर्दा बाहिरको खाना खाने गर्दछन् । विषादीयुक्त आहारा र वासस्थानमा आएको ह्रासका कारण बर्सेनि गिद्ध मासिँदै गएपछि नेपालमा पहिलो पटक २२ वर्षअघि चौधरीको अगुवाइमा समुदायस्तरबाट जटायु रेस्टुरेन्टको स्थापना गरिएको हो । यहाँ लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेस्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको छ । 

रेस्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरमा मरेका गाईभैँसी ल्याएर पनि व्यवस्थापन गर्ने गरेको छ । रेस्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने गर्दछ । कावासोती–१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५७ हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेस्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका  गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने गरेको छ । यहाँ अहिले रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध, राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् । आइतबारको गणनामा २१३ वटा गिद्ध रहेको गिद्ध संरक्षणकर्मी देउबहादुर रानाले बताउनुभयो ।

प्रकृतिको कुचिकारका रूपमा रहेका गिद्ध गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधीको प्रयोग सँगसँगै वासस्थानमा आएका ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेका चौधरीको भनाइ छ । “डाइक्लोफेनेकको प्रयोग गरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेका तथा वासस्थान आएका ह्रासको कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको बताइन्छ ।