• ८ मंसिर २०८१, शनिबार

मालिकाका २५ जनालाई मोटरसाइकल मर्मत तालिम

blog

मोटरसाइकल मर्मत गर्दै मालिकाका युवा । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २ गते । मालिकाका २५ जना बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्यले मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले मालिकाका एक, दुई र तीन नम्वर वडाका २५ जना युवाहरुलाई सीप सिकाई दक्ष बनाउने र रोजगारी सिर्जना गर्ने गरी तालिम सञ्चालन गरेको छ । 

पछिल्लो समयमा युवाहरुको उद्देश्य विदेश मात्रै भन्ने र देशमा केही छैन भन्ने भाष्य निर्माण भएकाले त्यसको न्यूनीकरण गरी स्वदेशमा नै स्वरोजगार बनाउने गरी तीन सय ९० घण्टे मोटरसाइकल मर्मत (मेकानिकल) तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । तालिमपश्चात् उनीहरुलाई सिटीइभिटीको लेवल वानको सीप परीक्षण गराउने र प्रविधि हस्तान्तरणको कार्यक्रम रहेको उहाँको भनाइ छ । 

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले सीप सिकेर व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । सीप सिक्ने बित्तिकै रोजगार बन्न सक्ने र अहिले मोटरसाइल नहुने घर नै नभएकाले स्वरोजगार बन्ने गतिलो माध्यमलाई सदुपयोग गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

यस्तै, कार्यालयले इस्मा गाउँपालिका वडा नम्बर तीन दर्लामचौरमा स्लेट ढुङ्गा निर्माण गर्न १५ दिनको २२ जना युवालाई तालिम पनि प्रदान गरिरहेको अर्यालले बताउनुभयो । घरहरुमा लगाउने टायलको जस्तो काम गर्ने स्लेट ढुङ्गा निर्माण गर्ने तालिममले पनि वेरोजगारको न्यूनीकरण गर्न सक्ने र स्थानीय ढुङ्गाको सदुपयोग हुने कार्यालयले जनाएको छ । 

मुसिकोट नगरपालिकामा २५ जना युवालाई १५ दिने कफीजन्य उत्पादन तालिम पनि सञ्चालन गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।तालिममा सहभागीहरुले सीप सिकेर व्यवहारमा लागु गर्ने बताउँदै आएका छन् ।