• ७ मंसिर २०८१, शुक्रबार

स्वास्थ्य सामग्री र उपकरण अनिवार्यरुपमा दर्ता गर्नुपर्ने

blog

काठमाडौँ,मङ्सिर २ गते । अबदेखि अस्पताल र स्वास्थ्य संस्थाहरूमा उपचारको क्रममा प्रयोग गरिने औषधीबाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरू अनिवार्यरुपमा दर्ता हुनुपर्ने भएको छ। 

औषधी व्यवस्था विभागले सूचना निकाल्दै उपचारको क्रममा प्रयोग गरिने औषधीबाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरू उत्पादन तथा व्यवसाय गर्नेले तीन महिनाभित्र विभागमा गएर दर्ता गर्न आग्रह गरेको हो ।  

‘‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरूको बिकी वितरण गर्दै आएका वा चाहने व्यक्तिहरूले थोक वा खुद्रा फर्म यस विभागमा दर्ता गर्नु र गराउनु हुन यो सूचना प्रकाशित भएको मितिबाट ३ महिना भित्र विभागबाट तोकिएको कागजातसहित निवेदन दिनु हुन मिति २०८१।०७ ।२३ को विभागीय निर्णयअनुसार सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ।’’ सूचनामा उल्लेख गरिएको छ । 

यो सँगै अबदेखि अस्पतालमा बिरामीको उपचारको  क्रममा प्रयोग गरिने सिरिन्ज, ब्लड कलेक्सन ट्युब ब्याग मुटुको उपचारमा प्रयोग गरिने पेसमेकरहरु अनिवार्य विभागमा दर्ता गर्नुपर्ने भएको छ ।

स्वास्थ्य उपचारमा प्रत्यक्ष रूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्री गुणस्तर र मूल्यको यकिन गर्ने मुख्य उद्देश्यले छ वर्षअघि सरकारले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४ ल्याएको थियो । 

तर, त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको थिएन तर अहिले आएर विभागले उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।