• ८ मंसिर २०८१, शनिबार

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

blog

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी खेलाडी विद्यार्थी । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मंसिर २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धवलागिरीका ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालय सहभागी भएका छन् । प्रतियोगिता उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले खेलकुद क्षेत्रको विकासका खेल पूर्वाधार विकासमा जोड दिनुभयो । 

स्थानीय तहको कार्यान्वयनपछि विद्यालय स्तरमा खेलाडि उत्पादनका लागि स्थानीय सरकारले खेल पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ । खेलले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ, तर खेलकुदमा सबै सँगै हुन्छन्” उहाँले भन्नुभयो “खेलाडीको व्यक्तित्व विकास र राष्ट्रलाई चिनाउन र समाजलाई जोड्न खेलकुदको महत्वपूर्ण भूमिका छ ।”

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताहरु खेलकुदसम्बन्धी नीति नियमभित्र रहेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति रनिङ्ग शिल्डले खेल प्रतिभा पहिचान र क्षमता प्रस्फुटनको अवसर सिर्जना हुने केसीले बताउनुभयो । 

प्रतियोगिता उद्घाटनका अवसरमा गरिएको मार्चपासमा धनजनता मावि फलियागाउँ प्रथम हुदै दश हजार नगद पुरस्कार प्राप्त गरेको छ । एथलेटिक्स र भलिबलका २८ वटा खेलमा प्रतिस्पर्धा हुने धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो । 

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमश ६० हजार, ४० हजार र ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । हरेक खेलमा प्रथम हुने खेलाडीलाई नगद एक हजारसहित पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।  

विद्यालय स्तरमा खेलक्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा गाउँपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।