• ७ मंसिर २०८१, शुक्रबार

यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो । 

उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्र लिन वायुसेवा कम्पनीलाई निर्देशन दिनुभयो । गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनुभयो । 

तीन मन्त्रालयको समन्वयमा  विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताउनुभयो । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताउनुभयो । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताउनुभयो । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘टिकटको कुरा गर्नुभयो । मैले टिकटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महँगोमा बेचिएको कुरा आयो, त्यो रोक्नुस् भनेका छौँ ।’ 

केही कम्प्लेन भएमा क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरिएको उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म बनाउनेगरी काम भइरहेको बताउनुभयो । उहाँले पोखरामा उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताउनुभयो । आफूले निजी क्षेत्रहरुसँग पनि उडान विस्तारका लागि आवश्यक छलफल अघि बढाएको मन्त्री पाण्डेको भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारको तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजना अन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्ने कुराको फलोअप गरिरहेको छु ।’  

लुम्बिनी विकास कोषका पदाधिकारीसँग पनि आफूले छलफल गरेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थल चल्ने भनेको लुम्बिनीले जति आकर्षण थप्न सक्यो, जति लुम्बिनीमा मानिस निम्त्याउनसक्यो,  त्यति नै भैरहवा विमानस्थलको आकर्षण बढ्छ उहाँले भन्नुभयो ।

‘भैरहवामा ५ विमान आइसके १० कसरी पुर्‍याउने र त्यसलाई दिगो कसरी बनाउने ? ठिक त्यस्तै काम पोखरामा कसरी गर्ने भनेर मैले देखेको भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बन्नसक्छ’ मन्त्री पाण्डेले भन्नुभयो, “पोखरा पर्यटकीय दृष्टिकोणले आउने, नेचर, एड्भेन्चरका लागि आउनेलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्रिभुवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु सङ्घीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु ।”