• ७ मंसिर २०८१, शुक्रबार

सूचना प्रविधि सरकारको प्राथमिकतामा

blog

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, कास्कीको कार्यक्रममा

पोखरा समाचारदाता 

पोखरा, मङ्सिर २ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिका क्षेत्रमा सरकारले जोड दिएको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान), कास्कीको १० औँ अधिवेशन उद्घाटन गर्दै शुक्रबार प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा सूचना प्रविधि विकासलाई समावेश गरिएको उल्लेख गर्नुभयो । 

उहाँले सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत राख्न क्यानले माग गर्दै आएको स्मरण गर्दै उहाँले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएको बताउनुभयो । क्यान कास्कीले सूचना प्रविधिका क्षेत्रमा निरन्तर रूपमा गरेको कामको प्रशंसा गर्दै प्रदेश प्रमुख भट्टले नवीनतम प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले १० वर्षमा ३० खर्ब बराबरको आइटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउनुभयो । सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्दै उहाँले सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । 

सूचना प्रविधि क्षेत्रमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो । 

त्यसै गरी मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको एक अर्को कार्यक्रममा प्रदेश प्रमरख भट्टले आजका बालबालिका भोलिको राष्ट्र निर्माणका लागि मानव पुँजी भएको बताउनुभयो । उहाँले बालबालिबालाई विद्यालय पुराउनु मात्र दायित्व नभई विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्वबाट कोही पनि टाढा जान नहुने बताउनुभयो ।  

कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा परिकल्पनाकार डा. राम गिरीले उद्देश्य ठुलो लिनुपर्ने र सफलताका लागि निरन्तर त्यसैमा लागिरहनुपर्नेमा जोड दिनुभयो । २५ वर्षदेखि विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । कार्यक्रममा आठ लाख ५० हजार बराबरका कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगायतका शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिनुभयो  ।