• ३ मंसिर २०८१, सोमबार

अफगानिस्तानविरुद्ध १३ वर्षपछि नेपालको जित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । जिलेस्पीजङ्ग कार्की र रोहित चन्दको गोलको सहयोगमा नेपालले शनिबार तीनदेशीय अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खलामा अफगानिस्तानलाई २–० ले हराएको छ । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हराएको हो । पछिल्लो पटक सन् २०११ मा 

काठमाडौँमा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई हराएको थियो ।

ताजकिस्तानको डुसान्बेको सेन्ट्रल रङ्गशालामा चालु प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बुधबार घरेलु टिम ताजकिस्तानसँग ४–० ले गुमाएको थियो । त्यसैले अफगानिस्तानसँगको खेलअघि नेपाल दबाबमा थियो । प्रशिक्षक नवीन न्यौपानेले पनि ताजकिस्तानसँगको खेलमा पहिलो रोजाइमा खेलेका पाँच खेलाडी परिवर्तन गर्नुभयो । उहाँले सुमित श्रेष्ठ, विमल पाण्डे, एरिक विष्ट, रोहन कार्की र भरत खवासलाई बेन्चमा राख्दै अभिषेक लिम्बू, मणि लामा, उत्सव राई, मनिष डाँगी र आयुष घलानलाई पहिलो रोजाईमा खेलाउनुभएको थियो । 

पूर्वार्ध गोलरहित बनेपछि नेपालले मध्यान्तरपछि सुरु भएको खेलको दोस्रो मिनेटमै अग्रता बनायो । अफगानिस्तानका डिफेन्डरको ‘ब्याक’ पास गलत बनेपछि डिबक्समा बल प्राप्त गरेका जिलेस्पीजङ्गले गोल गर्नुभएको हो । त्यसपछि अफगानिस्तानले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरेको थियो । यद्यपि निर्धारित समय सकिन १२ मिनेट बाँकी छँदा कर्नरमा प्राप्त बललाई रोहितले गोलपोस्टमा छिराएर नेपालको जित लगभग पक्का गर्नुभयो । 

नेपाल र अफगानिस्तानले पछिल्लो पटक ११ वर्षअघि दशरथ रङ्गशालामा साफ च्याम्पियनसिपको सेमिफाइनल खेलेको थयाो । सो खेलमा अफगानिस्तानले नेपाललाई १–० ले हराएर फाइनलमा स्थान बनाएको थियो । सो खेलमा रोहितले पेनाल्टीमा गोल गर्न सक्नुभएको थिएन । त्यसैले यो खेलमा गोल गरेर रोहितले सो गल्तीको पीडा केही कम पार्नुभएको छ । 

हेड टु हेडमा नेपाल अगाडि भए पनि फिफा वरीयतामा अफगानिस्तानले पछिल्लो दशक ठुलो फड्को मारिसकेको थियो । फिफा वरीयतामा नेपाल १७१ र अफगानिस्तान १५१ स्थानमा छ । त्यसैले पनि यस खेलअघि अफगानिस्तानलाई तुलनात्मक रूपमा बलियो मानिएको थियो तर नेपालले सबै अनुमानलाई गलत साबित गर्दै जित हात पा¥यो । अफगानिस्तानविरुद्ध नेपालको यो चौथो जित हो । अफगानिस्तानले भने नेपाललाई दुई पटक हराएको छ । सन् २००८ मा यी दुई देशबिच भएको खेल भने २–२ ले बराबरीमा सकिएको थियो । त्रिदेशीय फुटबल शृङ्खला अन्तर्गत अन्तिम खेल मङ्गलबार ताजकिस्तान र अफगानिस्तानबिच हुने छ ।