• ७ मंसिर २०८१, शुक्रबार

देउवा दम्पती उग्रतारा मेलामा

blog

डडेल्धुरा, मङ्सिर  २ गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो । 

उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो । 

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास छ । रासस