• ७ मंसिर २०८१, शुक्रबार

बाढीपहिरो प्रभावित पालिकालाई रकम

blog

रामेछाप समाचारदाता

रामेछाप, मङ्सिर २ गते । सरकारले गत असोज १० देखि १२ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित रामेछापका सबै पालिकालाई क्षति पुर्‍याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मतसम्भार तथा व्यवस्थापनका लागि रकम पठाएको छ । जिल्लाका आठ वटै पालिका सामान्य बाढीपहिरो प्रभावित पालिकामा परेका छन् । सोही अनुसार जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा प्रतिपालिका ५० लाख रुपियाँका दरले रकम प्राप्त भएको छ ।  

कात्तिक १२ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले वर्षाले क्षति पुर्‍याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मतसम्भार तथा व्यवस्थापनका लागि प्राप्त भएको रकम जिल्ला विपत् व्यवस्थापन समितिको तर्फबाट जिल्ला प्रशासनले सम्बन्धित स्थानीय तहको स्थानीय विपत् व्यवस्थापन कोषमा तत्काल नै निकासा गर्ने निर्णय गरेको थियो । बैठकले स्थानीय तहलाई प्राप्त भएको रकम तोकिएका कार्यक्षेत्रमा प्रचलित ऐन, नियमको प्रक्रिया पूरा गरी कार्यान्वयन गर्ने र सो कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे जिल्ला समन्वय समिति रामेछापले अनुगमन गर्नेलगायतका निर्णय गरेको थियो । 

निकासा भएको रकमबाट तोकिएको कार्य क्षेत्र र स्थानमा मितव्ययी, पारदर्शी, छिटोछरितो रूपमा स्पष्ट नतिजा निकाल्ने गरी प्रभावकारी रूपमा सम्बन्धित स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने निर्णय भएको थियो । कार्यक्रम कार्यान्वयन सम्बन्धमा सम्बन्धित स्थानीय तहले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको रोहवरमा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था मिलाउनुपर्नेलगायतको निर्णय गरेको थियो । अहिलेसम्म जिल्लामा रहेका आठ वटा पालिकामध्ये पाँच वटा पालिकाको स्थानीय विपत् व्यवस्थापन कोषमा रकम निकासा भएको छ । 

अहिलेसम्म मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड, गोकुलगङ्गा र सुनापति गाउँपालिकाको स्थानीय विपत् व्यवस्थापन कोषमा रकम पठाइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समिति संयोजक राजुप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड, गोकुलगङ्गा र सुनापति गाउँपालिकाको स्थानीय विपत् व्यवस्थापन कोषमा रकम पठाइएको छ । खाँडादेवी, दोरम्बा शैलुङ र लिखुतामाकोशी गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा रकम पठाउन बाँकी छ । बैङ्क खातालगायत केही समस्याले पैसा पठाउन सकिएको छैन । अबको एक/दुई दिनभित्रै सबै पालिकाको विपत् व्यवस्थापन कोषमा रकम निकासा हुन्छ ।”

मन्थलीमा तीन सय निवेदन

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण रामेछापमा एक जनाको ज्यान गएको थियो । पहिरोले गोठ पुर्दा गोठमा भैँसी र बाख्रा फुकाउँदै गरेकी रामेछाप नगरपालिका–६ की ५४ वर्षकी धनमाया मगरको ज्यान गएको थियो । वर्षाजन्य विपत्ले मानवीय क्षति कम गरे पनि रामेछापमा भौतिक क्षति भने ठुलो मात्रामा गरेको पालिकाहरूको भनाइ छ । जिल्लाका धेरै स्थानका नागरिकको घरगोठमा क्षति भएको छ । किसानको धेरै मात्रामा खेतबारीमा क्षति भएको छ । तामाकोशी र सुनकोशीसहित खिम्ती, लिखु, रणजोर, सुकाजोरलगायतका खोलामा आएको बाढीले आसपासका ठुलो मात्रामा धान खेत बगर भएका छन् । 

जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले पनि बाढीपहिरोको वास्तविक क्षतिको विवरण सङ्कलन गर्ने काम सकेको छैन । नगरपालिकामा बाढीपहिरोका कारण क्षति भएको भन्दै तीन सयभन्दा बढी निवेदन परेका छन् । नगरको विपत् व्यवस्थापन समितिमा परेका निवेदनका आधारमा वास्तविक क्षतिको पहिचानका लागि वडा तहबाटै काम भइरहेको मन्थली नगरपालिकाको विपत् व्यवस्थापन समिति सचिव एवं सबइन्जिनियर होम खड्का बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “मन्थली नगरपालिकामा बाढीपहिरोको वास्तविक क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विवरण सङ्कलनको काम भइरहेकाले कुन क्षेत्रमा कति क्षति भयो भन्न सक्ने अवस्था छैन । अहिले नगरमा पीडितका तीन सय निवेदन परेका छन् । यसका बारेमा वडागत रूपमा वास्तविकता पहिचान गर्ने काम भइरहेका छन् ।”