• ७ मंसिर २०८१, शुक्रबार

पुनर्निर्माणमा तिनै तहको सरकारको समन्वय

blog

बाढीपहिरोबाट भएको क्षतिको अवलोकन गर्नका लागि शनिबार बेथानचोक गाउँपालिका पुग्नुभएका मुख्यमन्त्री बहादुरसिंह लामा स्थानीयसँग छलफल गर्दै । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, मङ्सिर २ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बाढीपहिरोबाट क्षति भएका जिल्लामा तिनै तहको सरकारको सहकार्यमा पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाइने बताउनुभएको छ । शनिबार बाढीपहिरोका कारण क्षति भएको जिल्लाको बेथानचोकको स्थलगत अवलोकनका लागि आउनुभएका मुख्यमन्त्री लामाले सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा पुनर्निर्माणलगायतका काम गरिने बताउनुभएको हो । 

“बाढीपहिरोपछिको पुनस्र्थापना, पुनर्निर्माणका लागि कार्यविधि बनाउने काम भइरहेकाले कार्यविधि निर्माणको काम सम्पन्न भएपछि पुनर्निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बेहोर्ने छ,” मुख्यमन्त्री लामाले भन्नुभयो । 

उहाँले बाढीपहिरोका कारण कुन कुन घर विस्थापित भएको भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयमार्फत तथ्याङ्क सङ्कलन भइरहेकाले तथ्याङ्क आएपछि प्रदेश सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुका साथै बाढीपहिरोका कारण जोखिमयुक्त बस्ती स्थानान्तरणका विषयमा पनि तीन तहको सरकारबिच सहकार्य र समन्वय गरेर काम गरिने बताउनुभयो । मुख्यमन्त्री लामाले बाढीपहिरोपछि प्रदेश विपत् व्यवस्थापन कोषबाट बजेट स्थानीय तहमा पठाइएको र केही रकम अझै पठाउन बाँकी रहेको भन्दै विपत्पछिको पुनर्निर्माणको विषयमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच तालमेल मिलाई कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहे पनि निर्णय गर्न बाँकी रहेको बताउनुभयो । 

“कार्यविधि निर्माणको काम सकिएलगत्तै सङ्घीय, प्रदेश र स्थानीय सरकारले कुनले के काम गर्ने भन्ने टुङ्गो लगाएर बाढीपहिरो पछिको पुनस्र्थापना, पुननिर्माणको काम अघि बढाइने छ । यसका लागि जिल्लामा रहेका विषयगत कार्यालयलेसमेत बाढीपहिरोबाट भएको क्षतिको अनुगमन र अध्ययन गर्ने काम भएकाले यसको व्यवस्थापनका लागि छलफल गरेर काम गर्ने छौँ,” मुख्यमन्त्री लामाले भन्नुभयो । उहाँले प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपियाँ दिने निर्णय गरे पनि तत्कालका लागि कार्यविधि अनुसार एक एक लाख रुपियाँ वितरण गर्न रकम पठाइएको बताउँदै मृतकका परिवारलाई राहत वितरण गर्न अपुग रकम माग भएमा तुरुन्त पठाउन सकिने बताउनुभयो । उहाँले तत्कालका लागि मृतकका परिवारलाई एक/एक लाख राहत रकम दिइने भए पनि प्रदेशभित्रकै नागरिक भएमा थप एक लाख उपलब्ध गराउन कार्यविधि बनाउने काम भइरहेको स्पष्ट गर्नुभयो ।

“कतिपय जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारले मृतकका परिवारका लागि उपलब्ध गराउने भनेको राहत रकम वितरण गर्नुभएको पाइएको छ भने कतिपयले सङ्घीय सरकारले पनि दुई लाख रुपियाँ राहत रकम दिने भएकाले दोहोरोपना हुने भन्दै वितरण नगरेको पाइएकाले तीनै तहको सरकारले मृतकका परिवारलाई राहत रकम दिन सक्ने भएकाले त्यस विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका छौँ,” मुख्यमन्त्री लामाले थप्नुभयो । 

बेथानचोक गाउँपलिकाका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोका कारण सार्वजनिक पूर्वाधार विद्यालय, कृषि तथा पशुपालन, स्वास्थ्य, सडकलगायतका क्षेत्रमा अर्बौंको क्षति पुगेको बताउँदै बाढीपहिरोका कारण क्षति भएको संरचनाको पुनर्निर्माण गर्न करिब सात अर्ब रुपियाँ खर्च हुने बताउनुभयो । बाढीपहिरोका कारण क्षति भएको गाउँपालिकाको स्थलगत अवलोकनका लागि आउनुभएका मुख्यन्त्री लामालाई स्थानीयले पुनस्र्थापना, पुनर्निर्माणमा तीव्रता दिन अनुरोध गरेका थिए ।