• ७ मंसिर २०८१, शुक्रबार

दमकमा हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २ गते । झापाको दमक वडा नंं ३ मा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  बिहानको राति २ बजेको समयमा दीपज्योति टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।

हात्ती धपाउन खोज्दा हात्तीले भण्डारीलाई १ सय मिटरभन्दा परसम्म लखेटेर आक्रमण गरेको जनाइएको छ । भण्डारीको घटनास्थलमा नै ज्यान गएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जनाउनुभयो ।

दमकको वडा नंं २ र ३ हात्ती प्रभावित क्षेत्रमा पर्दछ । वडा नंं ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हात्तीबाट ज्यान बचाउन स्थानीयलाई निक्कै मुस्किल बन्न थालेको अवस्था छ । हात्तीहरू दिनको समयमा नजिकै हम्सेदुम्से जङ्गलमा बस्ने र बेलुकाको समयमा बस्ती तथा गाउँ पस्ने गरेका छन् ।