• ७ मंसिर २०८१, शुक्रबार

उत्कृष्ट करदातालाई सरकारको सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न १६ विधाका सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्तिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गर्नुभएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर बुझाउने कम्पनीका रूपमा नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) परेको छ । अघिल्लो वर्ष सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि थियो ।

यो वर्ष व्यक्तिगत आयकर सबैभन्दा धेरै तिर्नेमा विजयबहादुर शाह सम्मानित हुनुभएको छ । बैङ्किङतर्फ सबैभन्दा बढी कर तिर्नेमा नबिल बैङ्क रहेको छ । 

 यस्तै वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केटले उत्कृष्ट करदाताको सम्मान पाएको छ । निर्यातमा डाबर नेपालले सम्मान पाउँदा सूचना प्रविधिमा निर्यातमा कड्ताप टेक प्रालिले सम्मान पाएको छ । कृषिमा एवं पशुपन्छीजन्य उद्योग अन्तर्गत पतञ्जली आयुर्वेद प्रालि उत्कृष्ट करदाता भएको छ । यस्तै शिक्षामा लुम्बिनी मेडिकल कलेज र पर्यटनमा तारागाउँ रिजेन्सी होटलले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।

इन्टरप्राइजेजतर्फ श्रुति ट्रेडर्ससँगै सिडिएस एन्ड क्लियरिङ पनि सम्मानित भएको छ । ऊर्जामा भोटेकोशी पावर सम्मानित भएको छ । रेमिट्यान्समा भने यस वर्ष सिटी एक्सप्रेसले सम्मान पाएको छ । धेरै भ्याट तिरेर होङ्सी सिमेन्ट, सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेजले पनि सम्मान पाएका छन् ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मङ्सिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ । यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ट कर तिर्ने करदातालाई सम्मान गरिँदै आएको छ । 

कर दिवसको अवसरमा सबैभन्दा धेरै कर सङ्कलन गर्ने कार्यालय र कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।