• ७ मंसिर २०८१, शुक्रबार

महिला स्वरोजगार मेला सुरु

blog

महिला स्वरोजगार मेलामा स्थानीय सामग्री र परिकार बिक्री गरिदैं । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १ गते । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिला स्वरोजगार मेला आजबाट सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन र महिलालाई स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा मेला सुरु भएको हो । यो मेला अब धनगढीस्थित पार्कमोड क्षेत्रमा हरेक शनिबार लाग्नेछ । 

मेलामा ढकिया, झोलालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न सामग्रीसहित स्थानीय खानाका परिकार राखिएको थियो । पहिलो दिनको मेलामा मानिसको भिड देखिएको थियो । मेलामा स्थानीय खानाको परिकार राम्रैसँग बिक्री भएको धनगढी उपमहानगरपालिका –१५ सुर्मीकी विष्णुदेवी चौधरीले बताउनुभयो । 

मेलामा थारु परिकार ढिक्री, अन्दीको भात, फुलौरी, बंगुरको मासु, माछा, गंगटोसहित नेवारी, राना थारु लगायत विभिन्न समुदायमा प्रचलित खानाको परिकार राखिएको थियो । 

मेलाका लागि स्टलदेखि टेबलसम्म धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा महिलालाई उपलब्ध गराएको छ । मेलाले महिलालाई उद्यमशील बन्न प्रेरित गर्ने धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले अबको शनिबार धनगढी उपमहानगरपालिका मात्र नभई विभिन्न पालिकालाई मेलामा सहभागी गराउने उल्लेख गर्नुभयो ।