• ७ मंसिर २०८१, शुक्रबार

माग्ने (कविता)

blog

कालो रातमा 

पीडा र करुणा बोकेर 

गुन्जिरहेको छ

माग्नेको गाना

दुःख, पीडा, दर्दको

पुञ्ज बनेको माग्नेलाई

फुटेको भाग्य र डढेको आँसुले 

गिज्याइरहेको छ

दयाको भिख माग्दै

माग्ने कालो रातमा

जीवन र मरणको 

कर तिरिरहेको छ

युगको आँचललाई भिजाएर

बेथितिलाई उचालेर

करुण दृश्य फुटाउँदै

निराशा चुहाइरहेको छ

थोत्रो बुच्चो तनमा

सुकेका पातपतिङ्गर 

बजेर आएको आवाज झैँ

उसको रोदन घन्किरहेको छ

तर

माग्ने अपमान र घृणाका उपहारबाहेक 

अरू केही पाइरहेको छैन

परन्तु माग्ने

आफ्नै हृदयलाई 

ओढ्ने ओछ्याउने बनाएर

रिक्तता र तिक्तताको 

जीवन गुजारा गरिरहेको छ ।  

Author

निशा चौधरी