• ७ मंसिर २०८१, शुक्रबार

गृहको निर्देशनविपरीत घुमुवा प्रहरी

blog

सचिन पोख्रेल

इटहरी, कात्तिक ३० गते । गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने व्रmम पूर्वी नेपालमा चलिरहेको छ । विशेष गरी भारतीय सीमावर्ती नाका तथा खुला सीमा क्षेत्रबाट भइरहेको तस्करीका घटनामा संलग्न सङ्गठित तस्कर तथा व्यवसायीको समन्वय र संरक्षण गर्दै उनीहरूबाट अवैध रूपमा रकम असुल गर्ने उद्देश्यले घुमुवा प्रहरी परिचालन भइरहेका हुन् । गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको हेडक्वाटरले सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपले बन्देज गरेको छ ।  

सीमावर्ती नाका काँकडभिट्टालगायत आसपासका क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर सामान तस्करी हुने क्रम बढिरहँदा सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका घुमुवा प्रहरी परिचालन भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहतका घुमुवा प्रहरी परिचालन भइरहेका छन् । 

इप्रका काँकडभिट्टा अन्तर्गत प्रहरी हवलदार विनोदकुमार मण्डल, तेज चौलागाईं र भरत कट्टेल घुमुवाका रूपमा काँकडभिट्टा तथा मेचीनगर नगरपालिका अन्तर्गतका अन्य नाका क्षेत्रमा परिचालित रहेका छन् । करिब १२ वर्षदेखि काँकडभिट्टामा परिचालित हुँदै आएका प्रहरी हवलदार मण्डलको दरबन्दी नेपाल प्रहरी पहरा गण, गुल्म नम्बर २ सामाखुसीमा रहेको छ । हवलदार मण्डल काज आदेशबिना नै काँकडभिट्टामा लामो समयदेखि घुमुवाका रूपमा काम गर्दै आएको बुझिएको छ । 

 त्यसै गरी जिल्ला प्रहरी कार्यालय झापा अन्तर्गत पनि काँकडभिट्टामा प्रहरी हबलदार यम श्रेष्ठ, वीरेन्द्र मण्डललगायतका व्यक्ति घुमुवाका रूपमा लामो समयदेखि परिचालित रहेका छन् । सशस्त्र प्रहरी बलको तर्फबाट पनि काँकडभिट्टा गुल्मले गुल्मका कोर्ट मास्टरसमेत रहेका हवलदार शम्भु खत्रीलगायतका सुरक्षाकर्मीलाई घुमुवाका रूपमा परिचालन गरेको बुझिएको छ । यसअघि सशस्त्र प्रहरी बलको गुल्म मातहतमा सादा पोसाकमा परिचालित सशस्त्र प्रहरी हवलदार हरि राईलगायतका आधा दर्जन घुमुवालाई कारबाही गर्दै सशस्त्र प्रहरी बल मुख्यालयले काठमाडौँ झिकाएको थियो । अहिले घुमुवाका रूपमा लामो समयदेखि परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई कुनै तहले केही कारबाही नगरेको काँकडभिट्टाका नागरिक अगुवा भरतर राईको भनाइ छ ।

भारतको पश्चिम बङ्गाल राज्यसँग झापा जिल्लाको १४२ किलोमिटर क्षेत्र सिमानामा जोडिएको छ । सो सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक तथा चोरी, तस्करीका घटना नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने जिम्मेवारीका लागि भारतीय सीमावर्ती तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी बलको १७ वटा बोर्डर आउट पोस्ट (बिओपी) र चार वटा गुल्म परिचालित छन् । यसबाहेक सीमा क्षेत्रबाट भइरहेको चोरी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि नेपाल प्रहरीमातहत विभिन्न इप्रका, सीमा प्रहरी चौकी, प्रहरी चौकी, प्रहरी पोस्ट र चेकपोइन्ट पनि परिचालित छ । 

सीमा क्षेत्रमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीयस्तरको युनिट नै सेटिङ र समन्वयमा लागेका कारण सीमा क्षेत्रबाट अवैध चोरी तस्करी दिनप्रतिदिन बढिरहेको प्रत्यक्षदर्शीको भनाइ छ । 

विशेष गरी काँकडभिट्टाको मुख्य नाकाका अतिरिक्त मेचीनगर नगरपालिका अन्तर्गत पर्ने बाहुनडाँगी, नकलबन्दा, प्रसादगौडा, भान्साखोला, सतीघट्टालगायतका नाकाबाट नियमित रूपमा सङ्गठित तस्करी भइरहेको बताइएको छ । तस्करीमा संलग्नले तेस्रो मुलुकबाट आयात गरिएका सुपारी, चाइनिज लसुन, लाइटर, सुकुमेललगायतका सामग्री तथा गाईगोरु, बाख्रा भारततर्फ अवैध रूपमा पठाउने गरेका छन् । यी सबै सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीय युनिटकै सेटिङको आडमा सहज रूपमा सीमा पार गराउने गरिएको स्थानीयको आरोप छ ।

त्यसै गरी भारतबाट नेपालतर्फ ल्याउन प्रतिबन्धित सुर्तीजन्य सामग्री, खाने तेलका साथै लत्ताकपडा, चिनी, मोटर पार्टस्, इलेक्ट्रोनिक्स सामानलगायतका विभिन्न खाद्यसामग्री काँकडभिट्टा नाका तथा आसपासको खुला सीमा क्षेत्रबाट तस्करी हुने गरेको छ । नाकाबाट यी वस्तुको तस्करी हुनाले नेपालको स्थानीय बजारमा भन्सार तिरेर ल्याइएका सामानको मूल्य प्रतिस्पर्धात्मक हुन नसक्ने व्यापारीको गुनासो छ ।

नेपाल र भारतबिच खुला सीमा रहेका कारण यो नाकाबाट दुवै देशका स्थानीय व्यापारीलाई आवागमन सहज देखिन्छ तर यसैको फाइदा उठाउँदै सङ्गठित तस्करीको गिरोह सव्रिmय हुँदै गइरहेको छ ।   

काँकडभिट्टा नाका तथा वरपर रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गुल्म, इप्रका, चौकी, पोस्ट र चेकपोइन्टलगायतका युनिटले भन्सार छली सामानमाथि निगरानी गर्ने जिम्मेवारी पाए पनि तस्करीको गिरोहसँगको संलग्नताको आरोपले शङ्कास्पद स्थिति सिर्जना गरेको बताइन्छ । केही व्यापारीले प्रहरी र सशस्त्र प्रहरी बलले सेटिङका माध्यमबाट तस्करीमा प्रत्यक्ष सहयोग गर्दै आएको र यसबापत मोटो रकम असुल्ने गरेको आरोप छ ।

इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामासँग काँकडभिट्टा क्षेत्रमा घुमुवा प्रहरी परिचालन र उनीहरूकै संरक्षण तथा समन्वयमा तस्करी मौलाइरहेको आरोपका विषयमा कुरा गर्दा आफूले यस विषयमा केही बताउन नमिल्ने र जिल्लामा प्रवक्तामार्फत बुझ्न आग्रह गर्नुभयो । झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले केन्द्र्रको निर्देशनविपरीत घुमुवा परिचालन नभएको बताउँदै कतिपय व्यावसायिक काम, फरार अपराधी पव्रmाउ गर्ने र सूचना सङ्कलन गर्नका लागि केही व्यक्ति परिचालन भएको हुन सक्ने बताउनुभयो । विगत एक दशकभन्दा बढी समयदेखि एउटै व्यक्ति सादा पोसाकमा परिचालन भइरहेको भए पनि उहाँले किन नाकामा सादा पोसाकमा प्रहरी हिँड्नै नहुने हो र भन्दै प्रतिप्रश्न गर्नुभयो ।

यता काँकडभिट्टाका सामाजिक अभियन्ता राधेश्याम कार्कीले झापाका नाकामा हुने तस्करीलाई रोक्नका लागि कडा निगरानी र सुरक्षा संयन्त्रमा सुधार आवश्यक रहेको बताउनुहुन्छ । उहाँले स्थानीयस्तरमा परिचालित घुमुवा तत्काल हटाउनुपर्ने र अन्य सुरक्षाकर्मीमाथि नियमित अनुगमन गर्न र तस्करी नियन्त्रणका लागि विशेष योजना ल्याउन सङ्घीय सरकारको स्तरबाट सव्रिmयता देखाउन जरुरी रहेको बताउनुहुन्छ ।