• ७ मंसिर २०८१, शुक्रबार

दसैँ र तिहारका सामान अझै चीनमा

blog

खासा क्षेत्रमा रोकिएका मालवाहक कन्टेनर ।

चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक ३० गते । दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् । अड्किएका सामानमा फलफूल र जाडो मौसमका लत्ताकपडा छन् । असोज १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोले चिनियाँ क्षेत्र र तातोपानी क्षेत्रका सडक अवरुद्ध हुँदा ती सामान रोकिएको दुई महिना बित्न लागिसकेको छ । सामान खासा र केरुङको गोदाममै थन्किएपछि व्यापारी व्यवसायी चिन्तित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले दुःखेसो पोख्नुभयो ।

फलफूल कुहिने र लत्ताकपडा र रेडिमेड सामानको फेसन आउट हुने अवस्था भएपछि ती सामान छिटो काठमाडौँ ल्याउने वातावरण तयार पार्न व्यापारी व्यवसायीले सरकारसँग माग गरेका छन् । खासाको चिनियाँ अध्यागमन कार्यालयले एक घण्टामा एउटा कन्टेनर जाँच गरेर छाड्ने गरेको छ । त्यसकारण खासातर्फ १५० भन्दा बढी कन्टेनर लाइनमा रहेका छन् । फलफूलका ३० भन्दा बढी कन्टेनर र दुई हजारभन्दा बढी लत्ताकपडाका कन्टेनर केरुङ गोदाममा अड्किएर बसेका छन् । 

खासामा सडक निर्माण र सहर पुनर्निर्माणलाई देखाएर तातोपानी भित्रिन लागेका कन्टेनर महिनौँसम्म सोही क्षेत्रको सडक किनारामा रहेका छन् । पार्किङ भाडा, चालक, सहचालकलाई खाने, बस्ने व्यवस्थालगायतका कारण लागत बढ्दै आएको छ । केरुङमा रहेको कोल्डस्टोर गोदाम भरपर्दो नभएकाले फलफूल कुहिने अवस्थामा छ । 

कुहिन र सिजन आउट हुन नदिन केही व्यापारीले बढी भाडा तिरेर भए पनि सामान काठमाडौँ लैजाने तयारी गरिरहेका छन् । यसको मार उपभोक्तालाई पर्ने देखिन्छ । 

खासा, ल्हासा क्षेत्रमा पनि सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीले भाडा बढाउने भएका छन् । महिना दिनभन्दा बढी पालो कुरेर बस्नु पर्दा खर्च बढी उठेकाले भाडा पनि बढाउन लागिएको ती कम्पनीले जनाएका छन् । खासामा सडक र पुनर्निर्माण भइरहे पनि रोकिएका कन्टेनर सबै छाड्न चिनियाँ पक्षसँग पटक पटक आग्रह गरिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो ।