• ७ मंसिर २०८१, शुक्रबार

कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री ओली

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, कात्तिक २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ।

कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र सङ्घीयताका मूल मर्ममा तलमाथि नहुने पनि स्पष्ट गर्नुभयो।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्तासमीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उहाँले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सहकार्य भएको बताउनुभयो। अब एक वर्ष आठ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उहाँले दोहोर्‍याउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा  लिइएका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने जनाउनुभयो।

“म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने दृढतामा स्पष्ट छु। गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ। नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन। न्यायालयको कामलाई दबाब र झुटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन।”