• ७ मंसिर २०८१, शुक्रबार

सुनसरीमा उपनिर्वाचनको सरगर्मी बढ्दै

blog

जयकृष्ण यादव 

इनरुवा, कात्तिक २९ गते । सुनसरीको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । स्थानीय तहको शक्ति परीक्षणको सोचमा स्थानीय दलहरू रहेकाले उपनिर्वाचनको सरगर्मी बढ्दै गएको हो । 

विगतका दुई स्थानीय तहको निर्वाचनमध्ये पहिलो निर्वाचन २०७४ मा नेपाली काग्रेंस र दोस्रो निर्वाचन २०७९ मा नेकपा एमालेले जितेको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । पछिल्लाे निर्वाचनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सदानन्द झाँगडको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । 

यस वडामा चुनावी प्रतिस्पर्धाका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दल आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा आआफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । 

त्यस प्रतिस्पर्धाका लागि  नेपाली कांग्रेसले तेतर साह, नेकपा एमालेले सन्तु उराँव र नेकपा माओवादी केन्द्रले कुशेश्वर खेरबार यादव, नेकपा एकीकृत समाजवादी पार्टीले डोमी उराँवलाई उम्मेदवार बनाउने भएको छ भने पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल राष्टिय स्वतन्त्र पार्टी र जनमत पार्टीसहित सात राजनीतिक दल आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सहभागी हुँदैछन् । 

यस वडामा अहिले दैनिकजसो जिल्ला तथा केन्द्रीय नेताहरुले नेताकर्यर्तासँग भेटघाट र छलफल तीव्र बनाएको छ । नेकपा एमालेका केन्द्रीय राजनीतिकमा रहनुभएका पूर्व मन्त्री भगवती चौधरीदेखि प्रदेश सभा सदस्य रामदेव यादवसम्मको वडामा भेटघाट र छलफलको कार्यक्रम सुरु भएको छ, भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, संविधान सभा सदस्य सीताराम मेहता, जिल्ला सभापति केदार भण्डारीसहितको दाैडधुप बढेको छ । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता समर, निर्मल बराल, शिवकुमार डाँगी र प्रदेशका पूर्व उपसभामुख सरस्वती पोखरेलसहितका आफ्नो उम्मेदवारको पक्षमा जनमतका लागि भेटघाट र छलफल तीव्र बनाउनुभएको छ । यहाँ जिल्लाका १२ स्थानीय तह र १२४ वडामध्ये एक मात्रै सुनसरीको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको लागि केन्द्रीय नेताहरुको उपस्थिति र चासो बढेकाले सरगर्मी बढ्दै गएको देखिन्छ ।