• ७ मंसिर २०८१, शुक्रबार

समृद्ध गलकोट हाम्रो लक्ष्य

blog

भरत शर्मा प्रमुख, गलकोट नगरपालिका

बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये गलकोट नगरपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यो दरमखोला र गौदीखोलाको किनारमा, घुम्टे पहाडको काखमा रहेको प्रचुर सम्भावनायुक्त नगरपालिका हो । कालीलेक, निलुवा, ऐतिहासिक गलकोट दरबार र गोलकोत, निउरेको धुरीजस्ता प्राकृतिक स्थल छन् । साबिकका दुदिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेबास, पाण्डवखानी र रिघा गरी आठ वटा गाउँ विकास समितिलाई समावेश गरेर ११ वटा वडामा विभाजन गरी गलकोट नगरपालिका बनाइएको हो । स्थानीय तह कार्यान्वयनसँगै जनप्रतिनिधि निर्वाचित भएपछि गलकोट विकास र समृद्धिको यात्रामा छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र सेवा प्रवाहबारे भएका उपलब्धिसँग सम्बन्धित रहेर दोस्रो पटक निर्वाचित गलकोट नगरपालिकाका प्रमुख भरत शर्मासँग गोरखापत्रका ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :  

नगरको प्राथमिकता तय गर्नुभएको छ ? 

प्रदेश रणनीतिक सडकका रूपमा रहेको हटिया, हरिचौरदेखि ताराखोला हुँदै म्याग्दी जोड्ने सडक र हरिचौर, मल्म हुँदै पाण्डपखानी जाने सडक निर्माणाधीन छन् । आत्मनिर्भर अर्थतन्त्रका लागि गलकोटका हरेक वडालाई उत्पादनसँग जोड्ने योजना बनाएका छौँ । नगरपालिकाको नीति, कार्यक्रम र योजना त्यसतर्फ केन्द्रित गरेका छौँ । पछाडि परेको समूह र वर्गलाई सशक्तीकरण गर्ने र उत्पादनमा लगाउने काम भइरहेको छ । वडा अनुसार उत्पादन हुन सक्ने तरकारी, पशुपालन र अन्य रोजगारीका क्षेत्रको खोजी भएको छ । 

सेवा प्रवाहलाई जोड दिएका छौँ । यो अवधिमा प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरी काम थालेका छौँ । सबै वडा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाहलाई सहज बनाएका छौँ । यही कार्यकालमा नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सबै वडामा पुग्ने सडक विस्तार गरेका छौँ । स्वास्थ्य चौकी भवन निर्माण गरेर सेवा प्रवाह गरिएको छ । हरिचौरमा रहेको नगर अस्पताललाई सुविधासम्पन्न बनाएका छौँ । शल्यक्रियासहितको प्रसूति सेवा थालिएको छ । हामीले सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरेका छौँ । विद्यालयमा पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर सुधारको कार्यक्रम सञ्चालन गरिएको छ । 

निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा भए ? 

प्रतिबद्धता अनुसार गलकोटमा विकासको जग बसेको छ । जनप्रतिनिधि आउनुभन्दा र अहिले धेरै परिवर्तन भएको छ । जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् । जनताको नजिकको सरकारका रूपमा हामीले काम गरेका छौँ । सेवा लिन न्यूनतम ३० देखि ४५ मिनेटभन्दा बढी नलाग्ने नगरका रूपमा विकास भएको छ । नरेठाँटी, दुधिलाभाटी, हटिया, हरिचौर, काँडेबास क्षेत्रमा ढलान गरी हामीले राम्रो सडक बनायौँ । हटिया बजारको भित्री भागमा कालोपत्रे पनि गरिसक्यौँ । नयाँ छ वटा बालविकास केन्द्र खोल्यौँ । प्रशासनिक भवनका लागि जग्गा व्यवस्थापन गरेका छौँ । अहिले भवन निर्माण सुरु भएको छ ।  

आयआर्जनमा नागरिकलाई जोड्नुभएको छ ? 

नवप्रवर्तन कार्यक्रम अन्तर्गत ओखर खेती सुरु गरेका छौँ । अहिले करिब १० हजारभन्दा बढी ओखरका बिरुवा वितरण गरी रोपेका छौँ । उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिएको छ । किसानले उत्पादनका आधारमा अनुदान पाउँछन् । किसानले उत्पादन गरेको दुधमा प्रतिलिटर तीन रुपियाँका दरले अनुदान दिने व्यवस्था मिलाइएको छ । बाख्रापालन व्यवसायलाई विस्तार गर्न किसानका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्नुभएको छ ? 

प्रदेश सरकारबाट साना साना योजना आउँछन्, त्यो व्यावहारिक छैन । हाम्रो प्रदेश र केन्द्रमा पहुँच नभएका कारण आशा र अपेक्षा गरे अनुरूप विकास बजेट आउन सकेको छैन । कर्मचारीको व्यवस्थापनमा पनि सङ्घीय सरकारको हस्तक्षेपले सेवा प्रवाह प्रभावित भएको छ । सङ्घीय सरकारबाट नगरपालिकाको विभिन्न वडामा करिब १० करोड रुपियाँको सघन सहकारी विकास कार्यक्रम र प्रदेशबाट हटिया, हरिचौर, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रे सुरु भएको छ । 

आम्दानी वृद्धि गर्न योजना बनाउनुभएको छ ? 

सेवा शुल्क र सम्पत्ति करबापतको रकम मात्र हाम्रो आन्तरिक आम्दानी हो । यो वार्षिक रूपमा दुई करोड पनि पुग्दैन । हामीसँग सीमित स्रोतसाधन छ । आन्तरिक आम्दानी बढाउने योजना बनाए पनि स्रोत छैन । नदीजन्य पदार्थ छैन । साना व्यवसायी मात्रै छन् । त्यसैले सङ्घ र प्रदेश सरकारको अनुदानमा हामी निर्भर हुनुपर्ने बाध्यता छ ।  

स्वास्थ्य र शिक्षा क्षेत्रमा काम भएको छ ?  

प्रत्येक छ/छ महिनामा विशेषज्ञ चिकित्सकसहितको टोली ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको छ । नगर अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था मिलाएका छौँ । सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि, २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गरेका छौँ । विद्यालय समायोजनपछि टाढाका विद्यार्थी लिन गाडी जाने व्यवस्था गरिएको छ र नगरपालिकाले यातायात खर्च उपलब्ध गराएको छ । बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाएका छौँ । हामीले स्थानीय पाठ्यक्रम बनाएर लागु गरेका छौँ । 

चुनौतीको सामना गर्नुभएको छ ? 

हामीलाई दक्ष कर्मचारीको सधैँ अभाव छ । खर्च बढेको छ तर बजेट घट्दो क्रममा छ । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघर खाली हुँदै जान थालेका छन् । आत्मनिर्भर अर्थतन्त्र र युवालाई रोजगारीको अवसर सिर्जना गर्न चुनौती छ । हामीसँग स्रोतसाधनको अभाव छ ।