• १२ पुस २०८१, शुक्रबार

मधेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान

blog

खेतमा लगाएको धानबाली । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक २८ गते । मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशभरिका आठ वटै जिल्लाका गरी गत वर्षको तुलामा यस वर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने जनाएको छ । 

गत आर्थिक वर्ष २०८०-२०८१ मा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८१-०८२ मा १५ लाख दुई हजार ४५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले जानकारी दिनुभयो । 

गत वर्षभन्दा चालु वर्षमा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष ०८०-०८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपेको उहाँले जानकारी दिनुभयो । 

धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा चालु वर्षमा ०.५ (शून्य दशमलव पाँच) मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ । गत वर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यस वर्ष प्रति हेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । 

धानबाली रोपेको क्षेत्रफलको हिसाबले सबभन्दा बढी सप्तरीमा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यहाँ सबभन्दा बढी दुई लाख ६१ हजार १२० मेट्रिक टन धान उत्पादन हुने अनुमान पनि गरिएको छ । सबभन्दा कम रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यहाँ रोपिएको धानबालीबाट एक लाख ५० हजार ४८० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । 

मधेश प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार मधेशको पर्सामा ४६ हजार १८७ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीबाट एक लाख ८४ हजार ७४९ दशमलव मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यस्तै, रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलबाट एक लाख ५० हजार ४८०, सर्लाहीमा ४५ हजार ५४० हेक्टर क्षेत्रफल धानबालीबाट एक लाख ८२ हजार १६० मेट्रिक टन, धनुषामा ४१ हजार ५६५ हेक्टर क्षेत्रफल धानबालीबाट एक लाख ६६ हजार २६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको सो निर्देशनालयले जनाएको छ ।

यसैगरी, महोत्तरीमा ४१ हजार ९४२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट एक लाख ६७ हजार ७७० मेट्रिक टन, सिरहामा ५२ हजार ३८० हेक्टर क्षेत्रफलबाट दुई लाख नौ हजार ५२० मेट्रिक टन, सप्तरीमा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा दुई लाख ६१ हजार १२० मेट्रिक टन, र बारामा ४५ हजार ९९ दशमलव छ हेक्टर क्षेत्रफलले एक लाख ८० हजार ३९८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनुभयो । 

अघिल्लो आर्थिक वर्ष २०७८-०७९ मा तीन लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलबाट १२ लाख ६३ हजार ९४१ मेट्रिक टन र आव ०७९-०८० मा तीन लाख ८१ हजार ६१३ हेक्टरमा १४ लाख २२ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । खेती बेला समयमा नै आवश्यक पानी परेकोले धान रोपाइँ पनि समयमै भएको र त्यसपछि पनि चाहिएको बेला पनि पानी भइरहने गरेकोले धान उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । बेमौसमी वर्षाले लगाएको धानवालीमा केही क्षति पुर्‍याए पनि उत्पादनमा भने कमी नहुने जनाउनुभयो ।