• ८ मंसिर २०८१, शनिबार

१० हजार किशोरीलाई आत्मरक्षा तालिम दिँदै वीरगन्ज महानगर

blog

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह १० हजारभन्दा बढी किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिनेबारे जानकारी दिनुहुँदै । भएको छ ।

वीरगञ्ज, कात्तिक २७ गते । वीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।

महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । बुधबार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगन्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजारभन्दा बढी छात्राहरूको सहभागिता रहने उहाँले बताउनुभयो ।

एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड  रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उहाँले बताउनुभयो । यो तालिम सफल रूपमा सम्पन्न भए वीरगन्जको नाम अन्तर्राष्ट्रिय रूपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि आग्रह गर्नुभयो ।

वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल-भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डा. चिता यजनेश सेट्टीलाई बोलाएर सहभागीहरूलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो ।

आदर्शनगर रङ्गशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो । भारतबाट आउनुभएका प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुनुहुन्छ ।

उहाँले अमिताव बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको छ ।

ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरू (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल-भारत सहयोग म१चका अध्यक्ष अशोक वैदले व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरूलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताउनुभयो । बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरू खटाइएको छ ।