• ११ पुस २०८१, बिहिबार

मनाइयो महालक्ष्मी जात्रा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २७ गते । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा मनाइएको छ । जात्रामा यस क्षेत्रका नेवार मात्र नभएर अन्य समुदायको पनि उल्लेखनीय सहभागिता रहने गर्छ ।   

बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा पनि भनिन्छ । स्थानीय हरिप्रसाद श्रेष्ठले बलम्बु महालक्ष्मी जात्राको अनेक मौलिक पक्ष रहेको जानकारी दिनुभयो । “उपत्यकामा मनाइने प्रायः जात्रा उस्तै उस्तै देखिन्छ तर हरेक जात्राको भित्री स्वरूप भने नितान्त फरक हुन्छ,” उहाँले भन्नुभयो । जात्रामा देवीदेवतालाई मासुको झोलसँग भातको भोग लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो । लाः को अर्थ मासु, तिइको अर्थ झोल र मह्को अर्थ भात हो । जात्रा वर्षभरिको २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट सुरु हुन्छ । सो दिन छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकार छोयला, तखाः (थलथले), रक्सीलगायतका परिकार बनाउँछन् । जात्राको सम्पूर्ण जिम्मेवारी थकाली गुठी, दुवा गुठी र नाचखलः ले लिने उहाँले बताउनुभयो । 

पूजारी शान्ति गुर्जुले नवमीका दिनलाई ‘तयारीको दिन’ भनिने बताउनुभयो । उहाँका अनुसार नवमीमा पाहुनालाई बोलाई सत्कार गर्नका लागि विभिन्न परिकार तयार पारिन्छ । सोही दिन जात्रामा आएका पाहुनाको मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ । कार्यक्रममा स्थानीय युवाले विविध बाजागाजाका साथ नाचगान गर्छन् ।

दशमी जात्राको सबैभन्दा महत्वपूर्ण दिन हो । त्यसदिन बिहानै नौ जना गुठियारले कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन् । विधिवत् रूपमा पूजा गरिसकेपछि गुठियारहरू नाट्येश्वरको पूजा गर्न जान्छन् । त्यसपछि सात जना गुठियार आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लग्छन् । त्यही समयमा माटोको पाःला (बटुको) मा दुई माना जाँड गुठियारले पिउने चलन छ ।

त्यसपछि गुठीका नौ जना गुठियार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन् । महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट एउटा फूल खसेपछि मात्र दशमीको जात्रा विधिवत् रूपमा आरम्भ हुन्छ । पूजालगत्तै मन्दिरमा रहेका मूर्तिलाई खटमा राखिन्छ । त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ । 

कुमारीलाई बलि दिइएको राँगाको सानो आन्द्रालाई सुकाएर बनाइएको मालाले सिँगारिन्छ । त्यसपछि ढकीलाई पीठमा लगिन्छ र खटको जात्रा शुभारम्भ हुन्छ । जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ ।

पीठमा लगिसकेपछि बृहत् पूजा गरिन्छ । नगरको हरेक घरबाट पीठमा पूजा गर्न जानुपर्ने हुन्छ । पूजा सकिएलगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्वारेले पूजा गर्छन् । पूजा सकिएलगत्तै बाजागाजाको तालमा ताल मिलाई रथ नचाइन्छ । रथ दिनभरि नचाइन्छ । रथ नचाउनेले खाली खुट्टा नचाउनुपर्ने हुन्छ । बलम्बु जात्रा कुमारी, महालक्ष्मी र गणेशको रथ नचाईले गर्दा रोचक बनेको छ । यहाँका सांस्कृतिक बाजाले जात्रालाई झनै शोभायमान बनाउँदै आइरहेको छ ।