• ७ मंसिर २०८१, शुक्रबार

प्रदेशस्तरीय महोत्सव सुरु

blog

नवलपरासी समाचारदाता 

गैँडाकोट, कात्तिक २७ गते । पूर्वी नवलपरासीको गैँडाकोटमा गण्डकी प्रदेशस्तरीय दोस्रो महोत्सव सोमबार सुरु भएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो । 

त्यस अवसरमा उहाँले गण्डकी सरकार आर्थिक उन्नतिका लागि पर्यटन क्षेत्रको विकासमा सबैभन्दा जिम्मेवार र सशक्त ढङ्गले अघि बढेको बताउनुभयो । गण्डकी प्रदेश पर्यटनको विकासमा बढी जिम्मेवार र गतिशील रहेकाले हरेक क्षेत्रको विकासमा गण्डकीले छुट्टै फड्को मारिरहेको उहाँको भनाइ थियो । 

गैँडाकोटको नारायणी नदीको किनारमा आगामी मङ्सिर १० सम्म सञ्चालन हुने महोत्सवले यहाँको विकासमा उल्लेखनीय टेवा दिने भएकाले महोत्सव सफल पार्न उद्योगी, व्यवसायीलगायत सबै एक ठाउँमा उभिनुपर्नेमा मुख्यमन्त्रीको जोड थियो । 

गणतन्त्रमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार क्रियाशील रहेको बताउँदै उहाँले यसको आड र भरोसामा अघि बढ्दा मात्र हामीले रोजेको र चाहेको काम बन्न सक्ने बताउनुभयो । 

गण्डकी प्रदेशका पूर्वमन्त्री महेन्द्रध्वज जिसी, उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनलगायतले गण्डकी प्रदेश महोत्सवलाई सफल पार्न सबैको सहयोगको आशा गर्नुभयो ।