• १९ पुस २०८१, शुक्रबार

उपनिर्वाचनका लागि थालियो उम्मेदवारी घोषणा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, कात्तिक २६ गते । हेटौँडा उपमहानगरपालिका–१२ मा हुने आसन्न उपनिर्वाचनका लागि मकवानपुरका राजनीतिक दलले उम्मेदवार चयन धमाधम गरिरहेका छन् । 

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मकवानपुरमा हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

मकवानपुरमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रमुख दलले वडाध्यक्ष पदका लागि उम्मेदवार टुङ्गो लगाइसकेका छन् । गत २०७९ वैशाखमा भएको निर्वाचनको प्राप्त मत परिणामलाई आधार मान्दा यस पटक पनि कांग्रेस, एमाले र माओवादीबिच प्रतिस्पर्धा हुने देखिएको छ । 

२०७९ वैशाखमा भएको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र) का ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष बनेपछि रिक्त हुन गएको वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उता २०७९ मङ्सिरमा भएको निर्वाचनबाट स्थापित भएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत मकवानपुरमा स्थानीय तहको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ ।

माओवादी केन्द्रले रविन प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले प्रधानलाई उम्मेदवार बनाउने निर्णयसँगै प्रचारमा होमिएको बताउनुभयो । 

संसद्मा सबैभन्दा ठुलो दल कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका मकवानपुर निर्वाचन क्षेत्र नं. १ का सङ्घीय समितिका सभापति दामोदर खनालले तिवारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पाँच जनाको नाम वडाबाट सिफारिस भएर आएकोमा तिवारीलाई उम्मेदवार बनाउने सङ्घीय समितिको निर्णयसहित पार्टी केन्द्रमा पठाइएको बताउनुभयो । तिवारी कांग्रेसबाट वडाध्यक्षमा तेस्रो पटक उम्मेदवार बन्दै हुनुहुन्छ । 

एमालेले राजेश नगरकोटीलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ । एमालेले युवा सङ्घ मकवानपुरका अध्यक्षसमेत रहेका नगरकोटीलाई पुनः वडाध्यक्षको उम्मेदवार बनाउने भएको हो । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले उम्मेदवार टुङ्गो लागेसँगै निर्वाचन तयारी सुरु गरिएको बताउनुभयो । २०७९ वैशाखमा भएको निर्वाचनमा कांग्रेसका तिवारी दोस्रो र एमालेका नगरकोटी तेस्रो हुनुभएको थियो । 

यस्तै हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएको जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १२ नं. वडा, उपमहानगर र जिल्ला समितिको आइतबार बसेको संयुक्त बैठकले उपनिर्वाचनमा सहभागिता जनाउने निर्णयसहित आशावीर बललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रास्वपा मकवानपुरका अध्यक्ष भरत पराजुलीले वडाध्यक्षको उपनिर्वाचनमा प्रतिस्पर्धाका लागि पार्टीले बललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । 

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचनमा प्रेम लामा भ्लोनलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको आइतबार बसेको नगर र जिल्ला समितिको बैठकले आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा हेटौँडा उपमहानगर समितिका अध्यक्ष अरुण लामाले बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्ष पदको उम्मेदवार बलराम बललाई बनाउने गरी सिफारिस भएको जनाइएको छ ।