• ७ मंसिर २०८१, शुक्रबार

आइपुगे पाहुना जलपन्छी

blog

सप्तकोशी नदीमा देखिएका आगन्तुक जलपन्छी । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, कात्तिक २५ गते  । तराईका सिमसार क्षेत्र, सप्तकोशी नदी र तालहरूमा हिउँद लागेसँगै पानीचरा देखिन थालेका छन् । सिमसार क्षेत्र र तालमा हिउँद लागेसँगै हिमालपारिका देशबाट जाडो छल्न पानीचरा आउन थालेका हुन् । 

तराईका सिमक्षेत्र र तालमा आगन्तुक चराका साथै रैथाने सिलसिले हाँस र हरित हाँससमेत देखिन थालेका छन् । पानी हाँससँगै चिल पनि जाडो छल्न बसाइँ सरेर आउने गरेको नेचर गाइड तथा चराका जानकार अनिश तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार साइबेरिया, रसिया, ताजिकिस्तान, तान्जानिया र तिब्बतबाट आउने पानी हाँस तराईका सिम क्षेत्र र तालमा देखिन थालेका छन् ।  

असोज अन्तिमदेखि बसाइँ सरेर आउने पानी हाँस तराईमा गर्मी सुरु भएपछि फर्किने गरेका छन् । तराईमा जाडो कम हुँदै जाँदा आगन्तुक चरा आफ्नै वासस्थानतिर फर्किने गर्छन् । पाहुना चरा जाडोयामभरि तराई क्षेत्रमा बसेर बच्चा कोरल्ने बेला भएपछि पुनः स्थायी वासस्थानतिरै फर्किने गरेका छन् । 

बसाइँसराइ गरेर आएका पानी हाँस अहिले सप्तकोशी नदी क्षेत्रमा देखिने गरेका छन् । चराका जानकार तिम्सिनाका अनुसार सिन्दुरे हाँस, सुन्जुरे हाँस, हरियो टाउके हाँस, सुइरो पुच्छ«े हाँस, बिजुला गैरी हाँस सप्तकोशी नदी क्षेत्रमा देखिने गरेका छन् । सिम क्षेत्र मासिँदा जाडो छल्न बर्सौंदेखि आउने पानीचराको बसाइँसराइसमेत कम हुँदै आएको तिम्सिना बताउनुहुन्छ । 

जाडोयाममा नेपालको तराईमा बसाइँ सरेर आउने अधिकांश चरा हाँस प्रजाति रहेका छन् । जाडो छल्न अन्य प्रजातिका सिकारी तथा मांसाहारी चरा चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि आउने गरेका छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारीताल, जगदीशपुरताल, घोडाघोडीताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका क्षेत्र र कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै आफ्नो समय व्यतित गर्छन् । 

चराका पारखीहरू हिउँदयाममा कोशीटप्पु वन्यजन्तु आरक्ष र तराईका सिमताल र नदीमा देखिने हँुदा पर्यटक जलपन्छी हेर्न आउने गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । बर्सेनि करिब दुई सय प्रजातिका पाहुना चरा आउने गरेको चराविद्को भनाइ छ । 

प्रत्येक वर्षको जनवरीमा जलपन्छी गणना विश्वभरि नै गरिँदै आएको छ । तराईका जिल्लामा सन् २०२३ को गणना अनुसार ५८ प्रजातिका जलपन्छीको गणना गरिएको थियो ।