• ७ मंसिर २०८१, शुक्रबार

लोकप्रियतावादको प्रभाव

blog

नेपालको राजनीतिमा पनि लोकप्रियतावादको प्रभाव छ । राजनीतिक दलका सिद्धान्त, आदर्श, विचार, नेताका चरित्रलाई भन्दा मतदाताले चर्का नारा र मिठा आश्वासनलाई रुचाउने गरेकाले राजनीतिमा चासो राख्नेहरू चिन्तित हुँदै आएका थिए । यो लोकप्रियतावादलाई नेपालमा लोकरिझ्याइँ भन्दा अझ सरल तरिकाले बुझ्ने गरिएको छ । स्टन्टबाजी शब्द अझै बोध्य बनेको छ । नेपालका पछिल्ला चुनावमा स्टन्टबाजीको प्रभाव अति नै देखिने मात्रै होइन कि समग्र राजनीति नै यसैबाट प्रभावित हुँदै आएको छ । विश्वासै गर्न नसकिने कुराका पछि समेत आँखा चिम्लेर मतदाता दौडिएका घटना सामान्य जस्तै बनेका छन् ।

पछिल्ला समयका चुनाव हेर्दा नेपालमा मात्र नभई विश्वका अति विकसितदेखि लिएर आर्थिक अवस्थामा कमजोर रहेका सबै खाले मुलुकका जनता स्टन्टबाजीकै पछि लागेको देखिन्छ । यथार्थ के हो ? हुन सक्ने के हो ? नेताले गर्न सक्ने के हो ? जति गरे पनि नेताले गर्नै नसक्ने के हो ? जस्ता विषयको मतदाताले आकलन नै गर्न छाडेका छन् कि जस्तो देखिँदै छ । कडा भाषण, भाषणमा प्रखरता, नारामा मिठास र आश्वासनका पोकामा खँदिला उपहार दिन सक्नुमा नै चुनावी विजय र पराजयको परिणाम निर्भर रहन थालेको छ । राजनीतिक दलको सिद्धान्त र आर्थिक दृष्टिकोण गौण बन्दै गएको प्रत्यक्षै देखिन थालेको छ ।

नेपालमा रवि लामिछाने, बालेन शाहहरू यस्तै प्रक्रियाबाट राजनीतिमा उदाउनुभएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिमा उदय त नभनौँ तर छवि निर्माण उत्तेजक र मनमोहक भाषणबाटै भएको मानिन्छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पहिलो र दोस्रो दुवै पटकको विजयमा डोनाल्ड ट्रम्पलाई आक्रामक भाषणले नै साथ दिएको हो । युक्रेनमा राष्ट्रपति पदमा हास्यकलाकार जेलेन्स्कीको विजय पनि सायद यस्तै कारणबाट भएको हुन सक्छ । कट्टरतावादी, पक्षधरता र अनुदार शैली विश्वको राजनीतिमा हाबी हुँदै गएको जस्तो पनि देखिँदै छ ।

भारतमा नरेन्द्र मोदी मिठो भाषणबाटै उदाउनुभयो । सन् २०१४ देखि भारतको प्रधानमन्त्री पद समाल्दै आएका नरेन्द्र मोदीले भाषणबाटै भारतीय जनता पार्टीको लहर भारतभरि ल्याएर लगातार तीन पटक प्रधानमन्त्री बनिसक्नुभएको छ । उहाँले भारतलाई पहिले भइरहेको स्तरबाट माथि उठाउन कति सफल हुनुभयो त्यो अर्कै बहसको विषय हो तर पछिल्लो चुनावमा भारतीय जनता पार्टीको अघिल्लो अवस्था कायम हुन नसक्नुले लोकप्रियता बढ्दैमा दिगो विजय प्राप्ति हुन मुस्किल पर्छ भन्ने देखाएको छ । क्षणिक विजयका लागि भने स्टन्टबाजी कामयाब हुन सक्छ भन्ने देखिएको छ । मोदीको जितलाई भने लगातार तीन पटक भएका कारण स्टन्टबाजी मात्रै भन्न नमिल्ने देखिएको छ । मोदीकालमा भारतको अर्थतन्त्रमा व्यापक वृद्धि भएको भनिन्छ तर यो वृद्धि उच्चस्तरको आम्दानी भएकालाई मात्रै फलदायी भए जस्तो देखिन्छ । मोदी सत्तामा आउनु अघि भारततिरबाट नेपालमा सामान्य काम गर्न जति आउँथे, त्यो सङ्ख्यामा कमी नदेखिँदा मोदीकालमा पनि निम्नस्तरका जनताको जीवनशैली फेरिन सके जस्तो लाग्दैन ।

उता अमेरिकामा पनि डोनाल्ड ट्रम्पको विजयको प्रमुख आधार स्टन्टबाजी नै भन्न नमिले पनि विजयका लागि सहयोगी भूमिकामा स्टन्ट थियो भन्न नसकिने अवस्था छैन । कसैप्रति बढी उदार र कोहीप्रति अत्यन्तै अनुदार व्यवहार प्रदर्शन गर्दै सोहीबमोजिम अमेरिका अघि बढ्ने उद्घोष नै उहाँलाई चुनावमा विजयी बनाउने बलियो हतियार हुन पुगेको भन्न अप्ठेरो मान्नु पर्दैन । विश्वको सर्वाधिक विकसित र शक्तिशाली मानिएको मुलुकमा समेत कठोरतालाई प्राथमिकता दिन मतदाता पछि पर्दैनन् भन्ने यसैबाट पुष्टि हुन्छ । अमेरिकी संसद्मा हङ्गामा मच्चाएको आरोप लाग्दा लाग्दै समेत विजय हासिल गर्न सक्नुमा ट्रम्पका उच्च महत्वाकाङ्क्षी भाषणलाई श्रेय दिन ठिकै हुन्छ होला ।

नेपालमा त स्टन्टबाजीबाट उदाएका नेता रवि लामिछाने अहिले मुद्दा मामिला खेप्दै हुनुहुन्छ । पुराना राजनीतिक दल र तिनका नेतालाई भए नभएका आरोप लगाएर जादुमयी तरिकाले नेपालको मुहार फेर्ने आश्वासन दिएका लामिछाने आफ्ना विगतका क्रियाकलापका कारण प्रहरी हिरासतमा पुग्नुभएको छ । रवि लामिछानेसमेत मुछिएका भनिएका सहकारीका पीडित धमाधम देहत्याग गर्दै छन्, डिप्रेसनका बिरामी भइरहेका छन् । गरिबीको मारमा आँसु पिएर बाँचिरहेका छन् भने भ्रष्टाचारी जतिलाई जेल हाल्छु भन्दै दुई दुई पटक गृहमन्त्री भएका लामिछाने आफैँ प्रहरीको कठघरामा पुग्नुभएको छ । चितवनका मतदाताले सही निर्णय गरेका थिए कि थिएनन् भन्ने त रविको सहकारी अपचलनको मुद्दा किनारा लागेपछि मात्रै निक्र्योल होला तर हालका लागि भने स्टन्टबाजीमा रमाउनेहरू सबै सही हुन्छन् भन्न नसकिने अवस्था परिस्थितिले निर्माण गरिदिएको छ ।

उता बालेन शाह पनि रविको जस्तै स्टन्ट गरेका नभए पनि आफ्ना ¥यापमा नेतालाई गाली गरेरै परिचिति हुनुभएको हो । युवा मतदाता र विशेष गरी विदेशमा रहेका युवालाई प्रभावमा पारेर चुनाव जितेका बालेन शाहले पनि सानातिना काममा सफलता प्राप्त गरेको देखिएको छ तर ठ्याक्कै यो चाहिँ सारै राम्रो गरेको जानकारीमा आएको छैन । निजी विद्यालय र निजी अस्पतालमा आर्थिक रूपले कमजोरले पाउने निःशुल्क सिटलाई समेत निर्देशनकै भरमा टाले जस्तै भएको छ । नियम कानुनले दिएको अधिकार असहायले अधिकारकै रूपमा पाउने अवस्था सिर्जना हुन सकेको छैन । सिंहदरबार जलाई दिन्छु भन्ने उहाँको अभिव्यक्ति नै अहिलेसम्मको सर्वाधिक चर्चामा रहेको विषय हो ।

काठमाडौँको फोहोर भने केही हदसम्म व्यवस्थित गरिएको छ । समयले पनि नागरिकलाई सचेत बनाउँदै गएका कारण बाटाघाटाका धुलोमा केही कमी आएको हुन सक्ला यद्यपि यस सन्दर्भमा समेत बालेन शाहलाई श्रेय दिन सकिन्छ तर गरिबविहीन नगर बनाउने क्रममा सडक व्यापारीलाई बिना विकल्प खेद्नुले राम्रो सन्देश दिन सकेको छैन । जसले उहाँमाथि विश्वास गरेर मत दिएका थिए उनै नागरिक अहिले उनैमाथि खनिन थालेको समेत पाइन्छ । थक्थकाएका मतदातालाई पुनः सन्तोषका श्वास फेर्ने वातावरण दिन सक्छन् कि सक्दैनन् भन्ने भोलिका दिनले देखाउने नै छ ।

एक पक्षलाई खेद्ने नाराले चुनावी माहोल सिर्जना गर्ने होड नेताहरूमा चलेको छ । हिन्दुत्वको प्रभाव बढाउने नारा नै नरेन्द्र मोदीका लागि फलदायी बन्न पुग्यो यद्यपि उहाँका पछाडि अरू धर्मावलम्बी पनि लागे । आप्रवासनको समस्यालाई निराकरण गर्ने भनौँ या अमेरिकामा रहेका अवैध आप्रवासी विस्थापनको नाराले ट्रम्पलाई विजयको शिखरतर्फ पु¥यायो । सवा खरब डलर खर्च गरेर एक करोड १० लाख आप्रवासी फर्काउने योजना बन्दै छ । मेक्सिको र अमेरिकाका बिचमा रहेको पूरै सिमानामा पर्खाल लगाएर मेक्सिकोबाट अमेरिकातर्फ हुने गरेको अवैध बसाइँसराइलाई बन्द गर्ने प्रतिबद्धताले उहाँलाई अमेरिकामा लोकप्रिय बनायो । पहिलो कार्यकालमा यसतर्फ केही प्रगति पनि भएको थियो । 

आफ्नो विजय हुने बित्तिकै आफ्ना समर्थकसामु उभिएर अब अमेरिकाको स्वर्णयुग सुरु भएको घोषणा ट्रम्पले गरे तर के हुन्छ भन्ने हेर्न चाहिँ प्रतीक्षा गर्नै पर्छ । चुनावकै दौरान आफू विजयी भए २४ घण्टाभित्रै इजरायल हमास युद्धको अन्त्य गरिदिने बताउनुभएको थियो । रुस युक्रेन युद्धलाई क्षणभरमै अन्त्य गरिदिने समेत भन्नुभएको थियो । यी पत्याउन हुने कुरा थिए कि थिएनन् थाहा छैन र ट्रम्पले सत्तारोहण गरेपछि के हुन्छ त्यो त अहिले थाहा छैन तर त्यसका लागि अब लामो समय कुर्नुपर्ने पनि छैन । सत्य चाहिँ के हो भने नेताले चुनाव जित्नका लागि अति महìवाकाङ्क्षी भाषण गर्ने र जितेपछि गरेका वाचा बिर्सने वा पूरा गर्न नसक्ने भयो भने राजनीतिप्रतिको जनताको विश्वास हराउँदै जान्छ ।

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै स्टन्टबाजी गरेको होइन । केही स्वतन्त्र उम्मेदवारले मात्रै लोकरिझ्याइँका नारा लगाएर चुनाव जितेका होइनन् । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना पार्टीमा पनि केही नेता भाषणकै भरमा टिकेका छन् । आफ्नै दलको खोइरो खनेर लोकप्रिय नेता बन्ने प्रयासमा लागेका पनि भेटिन्छन् । आफ्नै दलका शीर्ष नेता वा अन्य समकालीन साथीहरूको धुवाँदार विरोध गरेर चर्चा बटुल्ने प्रयासमा रहेका नेता पर्याप्त छन् । विरोधका स्वरका पछि आफ्नो सर्वस्व सुम्पेर दौडने जनता वा मतदाता वा कार्यकर्ता पनि यथेष्ट छन् ।

वास्तविकता चाहिँ के हो भने नेपाली उखान मूतको न्यानो भने झैँ तत्कालको नारामा मतदाता भुल्नु महाभूल नै हुन्छ । बहुदलीय व्यवस्था वा लोकतन्त्र भएका मुलुकमा मुलुक हाँक्ने राजनीतिक दलले नै हो । राजनीतिक दलका सिद्धान्त, विचार र मार्गदर्शन एवं चुनावी घोषणापत्रको अध्ययनबाट नै नेता चयन गर्ने बानी बसाल्नु पर्छ । दलका विचार असल तर चुनावी उम्मेदवार खराब छ भने पनि त्यसैबमोजिम मतदाताले निर्णय लिन सक्नु पर्छ । दलले अँगालेको सिद्धान्त नै विश्वव्यापी रूपमा बहिष्कृत भइसकेको छ भने चुनावी उम्मेदवार एक जना असल हुँदैमा उचित परिणाम दिन सक्दैन भन्ने पनि विचार गरिनु पर्छ ।

निश्चय नै हो, नेता लोकप्रिय हुनु पर्छ । नेता मात्रै नभई नेता सम्बद्ध राजनीतिक दल समेत लोकप्रिय हुनु पर्छ । लोकप्रिय बन्नका लागि राजनीतिक दलको सिद्धान्त, विचार, नारा, कार्यशैली आदि सबै लोकप्रिय हुन जरुरी छ । चुनावी नारा, वाचा र नेताका भाषण पनि लोकप्रिय हुनै पर्छ तर लोकप्रिय हुनका लागि मात्रै भएभरका आश्वासनका पोका बाँडिएका हुन् कि यथार्थमा ती नेताले र दलले पूरा गर्न सक्छन् भन्नेमा मतदाताले ख्याल गर्नै पर्छ ।

 

Author

प्राडा शान्तिकृष्ण अधिकारी