• १९ पुस २०८१, शुक्रबार

कयर खोलामा बाँध निर्माण, सात हजार बिगाहामा सिँचाइ हुने

blog

कयर खोलामा निर्माण गरिएको बाँध । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक १४ गते ।
 मोरङको रङ्गेली नगरपालिकाले नगरको सात हजार बिगाहा जग्गामा सिँचाइ हुने गरी कयर खोलामा बाँध निर्माण गरेको छ । नगरको वडा नं. १ र बेलबारी नगरपालिकाको वडा नं.६ को सामना भएर बग्ने कयर खोलामा दुई करोड ७५ लाख रुपियाँ खर्च गरी नगरले बाँध निर्माण गरेको हो ।

‘‘९० प्रतिशत काम सम्पन्न भएको छ । सुरुमा सङ्घीय सरकारसँग सहयोगका लागि आग्रह गरेका थियौँ । तर सहयोग भएन ।’’ वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनालले भन्नुभयो, ‘‘पछि सङ्घीय सरकारले ६० प्रतिशत साझेदारी अनुदान दिने भयो । त्यसपछि किसानका गरा गरासम्म पानी पुर्‍याउने गरी यो सिँचाइ आयोजना नगरले गौरवका आयोजनाका रूपमा निर्माण गरिरहेको छ ।’’

यसैगरी, नगर प्रमुख दिलीपकुमार अग्रवालले भन्नुभयो, ‘‘हामीले वडालाई सिलिङ बजेट दिएका छैनौँ । हरेक वडाको आवश्यकता र माग अनुसार एक एक वटा  ठुला आयोजना निर्माण गर्ने नगरको योजना छ । सोही कार्यक्रमअन्तर्गत वडा नं.१ मा सिँचाइ योजना निर्माण गरेका हौँ ।’’ उहाँले बजेट छरेर विकास नदेखिने बताउनुभयो ।

कयर खोला सीमा बाँध सिँचाइ आयोजनाले नगरका वडा नं.१ र २ मा पूर्णरुपमा सिँचाइ हुने भएको छ । त्यस्तै, वडा नम्बर ३,४ र ५ मा आंशिक रूपमा सिँचाइ हुनेछ । बाह्रै महिना पानीको स्थायी स्रोत रहेको कयर खोलामा बाँध निर्माण भएपछि खोलाको दुबैतर्फ कटानको समस्या समेत रोकिएको छ ।

खेर जाने पानी प्रयोगमा आउने भएपछि स्थानीय किसान खुसी भएका छन् । खोलामा पानी बगिरहन्थ्यो । तर, सिँचाइका लागि बोरिङ प्रयोग गर्नुपर्थ्यो । अब खोलाको पानीले सिँचाइ गर्न पाइने भयो–स्थानीय किसान रामनारायण चौधरीले भन्नुभयो ।

चौधरीका अनुसार हिउँदमा सानो पानी हुँदा पनि दक्षिण बग्ने पानी पुरै थुनेर खेतमा लान सकिने गरी बाँध निर्माण गरिएको छ । अर्का किसान ईश्वरचन्द माझीले भन्नुभयो, ‘‘किसानका लागि बाटो घाटोभन्दा सिँचाइ नै महत्त्वपूर्ण रहेछ । उहाँले हिउँद बर्खा नै पानीको स्रोत भएपछि खेती निर्धक्क रूपमा गर्न पाइने छ ।’’

उहाँले विगतमा बगेर जाने पानी उपभोग गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । मोरङको रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिकाका र कानपोखरी, धनपालथान, कटहरी, जहदा गाउँपालिका धान उत्पादन हुने सघन क्षेत्र हुन् ।