• ७ मंसिर २०८१, शुक्रबार

फैलिँदो लोकोत्सव छठ

blog

छठ लोकोत्सवको प्रारम्भ सृष्टिको उषाकालदेखि नै भएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । सूर्योपासनासँग सम्बन्धित भएकाले यस पर्वको प्रारम्भ सूर्यको अवस्थिति र अस्तित्वसँग पनि जोडिएको पाइन्छ । भनाइको अर्थ यसको प्रारम्भ पौराणिक कालदेखि नै भएको पाइन्छ ।

छठ लोकोत्सव मिथिलाञ्चलको सबैभन्दा ठुलो चाड त छँदै छ यो सबैभन्दा लोकप्रिय र लोकतान्त्रिक पनि छ । छठ लोकोत्सवको लोकप्रियता झन् झन् बढ्दै गएको तथ्य यसपालिको छठले प्रमाणित गरेको छ । यो लोकोत्सव सुरु सुरुमा मिथिलाञ्चलमा मात्र सीमित थियो । अहिले भने यस सांस्कृतिक पर्वको परिधि दिनानुदिन वृद्धि हुँदै गएको छ । राजधानी काठमाडौँको रानीपोखरीमा विगत वर्षदेखि यो पर्व मनाउने प्रशंसनीय परम्परा सुरु भइसकेको छ । बागमती किनारका घाटमा यो पर्व पहिल्यैदेखि मनाइने गरिन्थ्यो । त्यसैले राजधानीवासीका लागि यो पर्व नौलो होइन । 

संस्कृतिको कुनै सीमा हुँदैन । यो असीम एवं असीमित क्षेत्रमा संचरनशील हुन्छ तसर्थ छिमेकी राष्ट्र भारतको विहार र उत्तर प्रदेश राज्यमा पनि यो पर्व मनाउने लामो परम्परा नकार्न सकिन्न । विहारको राजधानी पटनाको छठको छवि त विश्वव्यापी भइसकेको छ । हाम्रो नेपाली भूभागमा पनि यसको गौरवशाली परम्परा अद्यापि जीवन्त छ । थाइल्यान्डको तमासात विश्वविद्यालयले तयार पारेको ‘जनकपुर यात्रा’ वृत्तचित्रमा मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरमा मनाइने छठको छायाङ्कन भइसकेको छ । निकट भविष्यमा बैङ्ककमा मनाइने नेपाली सप्ताहमा यसको प्रदर्शन हुँदै छ । सो वृत्तचित्र काठमाडौँ र जनकपुरमा पनि प्रदर्शन गरिने जनाइएको छ । अहिले छठ लोकोत्सव नेपाल र भारतवर्षमा मात्र सीमित नभएर फ्रान्सको राजधानी पेरिससम्म पुगिसकेको छ । 

छठ लोकोत्सवको प्रारम्भ सृष्टिको उषाकालदेखि नै भएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । सूर्योपासनासँग सम्बन्धित भएकाले यस पर्वको प्रारम्भ सूर्यको अवस्थिति र अस्तित्वसँग पनि जोडिएको पाइन्छ । भनाइको अर्थ यसको प्रारम्भ पौराणिक कालदेखि नै भएको पाइन्छ । प्राचीन ग्रन्थ ऋग्वेदमा पनि सूर्योपासनाको महत्वलाई यसरी दर्शाइएको छ :

‘हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ तब भक्तजन गीत गाएर तिम्रो स्तुति गर्छन् ।’ 

मत्स्य पुराणमा यस्तो उल्लेख पाइन्छ, 

‘आरोग्य भाष्करोदिच्छेत’ अर्थात् सूर्यबाट आरोग्यताको कामना गर्ने गरिन्छ । पद्म पुराणमा पनि यस कथनको पुष्टि गरिएको पाइन्छ, ‘यथा सूर्योपासना मात्रेण सर्वरोगतां प्रचुच्यते’ अर्थात् सूर्योपासनाबाट प्रायः सबै बिरामी नष्ट हुन्छन् । 

अतः छठ लोकोत्सवमा सूर्यको पूजाआजा, आराधाना र अर्चना प्रमुख हुन्छ किनभने सूर्य साक्षात् देवता हुन् । भक्तजन मात्र होइन सृष्टिका सबै मानिसले उनलाई आफ्नो नग्न आँखाले सृष्टिको प्रारम्भकालदेखि हेर्दै आएका छन् । उनको अस्तित्व एवं अस्मितालाई हेर्दै र स्विकार्दै आएका छन् । सूर्य पूर्ण प्रजातान्त्रिक देवता हुन् । गरिब र धनी, सुसम्पन्न र विपन्नको बिचमा कुनै भेदभाव गर्दैनन् । सम्पन्नको आकाशचुम्बी अट्टालिका र गरिबको झुपडीसमेतमा समान रूपले आफ्नो प्रकाश विकीर्ण गर्छन् । यस्ता प्रजातान्त्रिक देवता सर्वप्रिय र लोकप्रिय हुनु सर्वथा स्वाभाविक हो । अतः सूर्योपासनासँग साक्षात् सरोकार एवं सम्बन्ध भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीका दिन सुरु हुने यस लोकोत्सवलाई सर्वप्रथम अत्रिमुनिकी धर्मपत्नी सती अनुसूयाले सुख, समृद्धि र सम्पन्नताका लागि र आफ्नो सुखद सफल दाम्पत्य जीवनका लागि गरेकी थिइन् । सोही समयदेखि यो पर्व सुरु भएको अनुमान गरिन्छ । 

धर्मनिरपेक्ष 

लोकोत्सव : छठ लोकोत्सव कुनै खास धर्मावलम्बीले मनाउने गर्छन् भन्ने छैन तर पनि मुख्यतः यो हिन्दुको सबैभन्दा ठुलो चाडका रूपमा मनाइँदै आएको छ । तसर्थ यसलाई हिन्दुको सबैभन्दा लोकप्रिय चाड मान्न सकिन्छ तर यसको लोकप्रियता झन् झन् बढ्दै गएकाले अचेल यसलाई अन्य धर्मावलम्बीले पनि मनाउन थालेका छन् । सम्पूर्ण तराई प्रदेशमा बसोबास गर्ने सबै धर्मावलम्बीले यस पर्वलाई मनाउने परम्परा बस्न थालेको छ । मेचीदेखि महाकालीसम्म यस पर्वको लोकप्रियता बढ्दै गएको हामी पाउँछौँ । के हिन्दु के मुसलमान, के जैन, के बौद्ध; जसलाई मन पर्छ उसले मनाउने गर्छन् । किनभने यो पर्व सूर्य भगवान् र सूर्यको दर्शनसित सम्बन्धित छ । सूर्य कुनै खास धर्मावलम्बीका देवता होइनन् । तसर्थ अचेल यस पर्वलाई सबै धर्मावलम्बीले मनाउन थालेका छन् । अतः यो लोकोत्सवले सबै धर्मको समन्वयको सन्देश दिन्छ । 

विधिविधान

कात्तिकको प्रारम्भदेखि नै श्रद्धालु शाकाहारी हुन थाल्छन् अर्थात् छठ पर्वको अनुष्ठान गर्ने भक्तजन माछामासु, लसुन, प्याज आदि तामसी भोजनको त्याग गर्न थाल्छन् । पूजा सामग्री सबै सफासुग्घर गर्न थालिन्छ । छठको चौथो दिन ‘चौथी’ को व्रत बस्ने भक्तजनले स्नान गरेर शाकाहारी खाना ‘अरबा अरवाइन’ खाने गर्छन् । यसलाई ‘नहाखाय’ अर्थात् नुहाएर खानु भन्ने गरिन्छ । पञ्चमीको दिनभरि उपबास बस्ने परम्परा छ र नुहाइधुवाइ गरी नयाँ वस्त्र धारण गरेर आआफ्ना इष्टदेवता प्रतिस्थापित भएको कोठामा खाने कुरा पकाउँछन् । यसमा गहुँको पिठोबाट शुद्ध घिउमा बनाइएको पुरी, गुँड, दुध र अरवा चामलबाट बनाइएको ‘खिर’ सहित पाकेको केरा र फलफूल अनिवार्य मानिन्छ । यस शुद्ध ठाउँमा मैथिली लोककला ‘अरिपन’ अङ्कित गरिन्छ । यहाँ पकाइएको प्रसादलाई पूजापछि घरपरिवारका सबै सदस्यले ढोगेर खाने गर्छन् ।

षष्ठीको शुभ दिनमा गहुँ र चामलको पिठोबाट क्रमशः ठेकुआ (एक प्रकारको रोटी) र भुसवा (एक प्रकारको लड्डु) शुद्ध घिउमा बनाइन्छ । यसबाहेक केरा, उखु, मेवा, मिष्ठान्न, कन्दमूल, नरिवल, अम्बा, विभिन्न किसिमका मिष्ठान्न र फलफूल सजाएर कुनै जलाशयमा गई सूर्यलाई साँध्य अर्घ अर्पण गरिन्छ । यस पूजा परम्परालाई स्थानीय भाषामा ‘सझिँया घाट’ वा ‘सझिँया अरक’ भनिन्छ । ‘अरक’ ‘अर्क’ को अपभ्रंश हो, जसको शाब्दिक अर्थ पनि सूर्य नै हुन्छ । सप्तमी तिथिको प्रातःकालमा फेरि त्यसै जलाशयमा गएर प्रातःकालीन पूजा र अर्घ अर्पण गरिन्छ । यसलाई ‘भिन्सरबा घाट’ या बिहानको अरक भनिन्छ । सूर्योदयपछि सूर्यको दर्शन गरेर उनलाई अर्घ प्रदान गरेर यो समापन गरिन्छ । मैथिल नै अस्ताचलगामी र उदाउने सूर्यको पूजा गर्ने प्राणी हुन् । सङ्गीतमय लोकोत्सवमा छठ पर्वको साङ्गीतिक महत्व पनि सर्वाधिक छ । यसको प्रारम्भ र अन्त्य पनि सङ्गीतमय नै हुन्छ । सम्पूर्ण चाड अवधिभरि सङ्गीतको स्वरलहरी महिलाबाट गायन सुन्न सकिन्छ । सम्पूर्ण तराई प्रदेशको गाउँ गाउँ, घर घर, गल्ली, गोरेटो र वनमा सङ्गीतको सुमधुर स्वरलहरी प्रतिध्वनित हुन थाल्छ । यो लोकोत्सव सङ्गीतमय वातावरणमा सुसम्पन्न गरिन्छ । 

‘काँचहि बाँसके टोकरिया हो ऽऽ

दीनानाथ, टोकरी लचकत जाय !

बाट मे पुछय जे बटोहिया  ऽऽऽ

टोकरी केकेर जाय ...............?

आन्हर होयवे रे बटोहिया

अरक टोकरी छठिमाय के जाय ....।

छठको शुभ अवसरमा श्रद्धालु भक्तजनको मुखबाट नैसर्गिक रूपमा निःसृत यस लोकगीतमा दीनानाथ र छठी मैयाँको सम्बोधन स्वाभाविक मान्न सकिन्छ ।

यस लोकोत्सवमा सूर्यको अर्चना एवं आराधना र पूजाआजा गरिए पनि यसको लोकप्रियता एवं व्यापकता ‘छठ परमेश्वरी’ अनुसार उषालाई नै छठ परमेश्वरी भन्ने गरिन्छ । उषाको काखबाटै सूर्यको उदय हुन्छ । तसर्थ उषालाई छठ परमेश्वरीको साक्षात् रूपमा पूजाआजा गर्ने गरिन्छ । उषा पनि देवीको एउटा रूप भएकाले दसैँदेखि लक्ष्मीपूजा एवं लक्ष्मीपूजादेखि छठसम्म देवीको आराधना हुनु कुनै अस्वाभाविक कुरो होइन । यो देवी पूजनको महोत्सव दसैँदेखि छठ लोकोत्सवसम्म अनवरत रूपमा अग्रसारित भएर आजपर्यन्त अनवरत चल्नुका पछाडि श्रद्धालु भक्तजनको अविचल आस्था, बलियो विश्वास र दृढ भक्तिभावको सबल प्रदर्शन हो ।

छठपूजाको सम्पूर्ण श्रद्धा एवं आकाङ्क्षा सूर्यको समर्पणसम्बन्धी ऋग्वेदको श्लोकमा आधारित भएर अभिव्यक्त भएको छ :

‘हे प्रभु विपुल तेज भुक्त–सूर्य, हाम्रो कल्याणकारी भई उदय होऊन्, नदीहरू कल्याणकारी होऊन् ।’

व्रतालु र श्रद्धालु छठ मैयाँलाई आफूप्रति सहायक हुनका लागि अनुनय विनय गर्छन् । यस्तै भावनाले भरिपूर्ण एउटा छठ गीत यस्तो छ :

‘हथवा मे फुलवा के डलिया ।

छठ पूजन जाय ।

छठी मैयाँ होयब सहाय ।

छठ पूजन जाय ।’

पानीसँग जोडिएका धेरै चाडपर्व छन् तर छठ चाहिँ अनिवार्य रूपमा पानीसँग जोडिएको एउटा प्रधान पर्व हो । यो पर्व कुनै जलाशय, नदीनाला, पोखरी–तलाउको किनारमै सम्पन्न गरिन्छ  किनभने श्रद्धालु भक्तजन पानीमा उभिएरै सन्ध्याकालीन र प्रातःकालीन अर्घ दिने गर्छन् । कथम्कदाचित् कुनै जलाशय छैन भने आँगनमै खाल्टो खनेर छठ व्रतको निष्ठापूर्वक अनुष्ठान गर्ने गरिन्छ । जलाशय कुनै न कुनै किसिमको हुनैपर्ने अनिवार्यता यस पर्वमा देखिन्छ । यसै भावनाको अभिव्यक्ति यस गीतमा भएको छ :

‘अंगना मे पोखरि खनायल

छठि मइया अयतन आइ

दुअरा पर तमुआ तनायल

छठि मइया अयतन आइ’

सूर्यपूजाको पर्व हो छठ । इतिहासका प्रारम्भिक दिनमा छठका अवसरमा छठी माँको पूजा विशेष रूपमा गरिन्थ्यो । यो यस कुराको सङ्केत हो कि त्यस समयमा समाज मातृसत्तात्मक थियो होला । इतिहासको लामो दौरमा छठ पर्वको मातृसत्तात्मक स्वरूप क्रमशः गौण हुँदै गयो र उसको पितृसत्तात्मक स्वरूप प्रकट हुँदै गयो । सायद यसको प्रमुख कारण सूर्यको प्रखर प्रकाशको महत्वको समक्ष मनुष्य विनत हुनुको विवशता थियो । सूर्यप्रति आदर र भयको भाव छठ पूजनको अर्घदेखि अन्त्यसम्म हेर्न सकिन्छ तर मातृसत्तात्मकबाट पितृसत्तात्मक समाज बन्ने प्रक्रियामा सूर्यको केन्द्रीय सत्तालाई सहज रूपमा स्वीकार गरियो र उसको प्रचण्ड स्वरूपलाई पुरुष सत्ताको प्रतीकका रूपमा स्वीकार्य बनाएको हुन सक्छ । हुन त छठ परमेश्वरीको पूजाआजा गर्ने बेलामा गीत गाउने महिलाले सूर्यलाई पनि स्मरण गर्ने गर्छन् । 


छठसम्बन्धी लोकगीतमा मातृसत्तात्मक समाजका स्मृति अहिले पनि विद्यमान छन् । सूर्य पितृसत्तात्मक समाजको प्रतीक बनिसकेको छ तर महिला आज पनि छठका अवसरमा मातृशक्तिका प्रतीक नदी र रुखसम्बन्धी गीत गाउँछन् र यसप्रकार मातृसत्तात्मक समाजका कतिपय स्मृतिलाई जीवित राखेका छन् । यिनीहरू गाउँदै नदी र पोखरीसम्म जान्छन् मानौँ आफ्नी बहिनी, दिदी र आमासित भेट्न जान लागेका हुन् । यी गीतमा महिलाको भित्रको विनम्र सादगी, सच्चाइ र श्रद्धाको साँचोसोझो अभिव्यक्ति पाइन्छ । यी महिला नदी र रुखको पूजाआजा यस निमित्त गर्दैनन् कि सूर्य जस्तो प्रचण्ड शक्तिका प्रतीक देउता हुन्, बरन् यस निमित्त गर्छन् कि यिनको पूजाआजा गर्नु लोककल्याणकारी छ र यिनीहरू सन्ततिहरूको सुरक्षा पनि गर्छन् ।

छठ पर्व प्रकृतिपूजाको सर्वश्रेष्ठ प्रतीक हो । जातपातको वन्धनविपरीत यस पर्वको सर्वश्रेष्ठ विशेषता के छ भने यस पूजाका लागि कुनै पण्डितको आवश्यकता महसुस गरिँदैन । छठ पर्वको प्रारम्भ विधिवत् ‘नहाय–खाए’ को दिनदेखि हुन्छ ।

सर्वप्रथम पञ्चमीको दिनभरि उपवासको व्रत राखेर राति गुडमिश्रित खिर खान्छन् व्रतीहरू । यसलाई स्थानीय भाषामा ‘खरना’ भनिन्छ । यसपछि अन्न–जल ग्रहण नगरीकन सप्तमीसम्म व्रतमा बस्ने विधिविधान छ । यसमा बिरुवासहित बेसार, उखु, अदुवा, सकरखण्ड आदिको प्रयोग प्रसादका रूपमा गरिन्छ । पूजाका क्रममा माटोले निर्मित हात्ती, कलश, चौमुखी दीप, आरती आदिको विशेष महत्व हुन्छ । कार्तिक शुल्क सप्तमीका दिन एकाबिहानै गाईको दूध लिएर उदाउँदो सूर्य भगवान् भास्करको पूजा गर्ने सिलसिलामा बिहानको अर्घ प्रदान गरिन्छ ।  

छठ पर्वको समाजशास्त्रीय विवेचन गर्ने बेलामा सम्पूर्ण मिथिलाञ्चलका ग्रामीण जीवनको सरलता, सहज उल्लास र उमङ्ग एवं त्यसमा निहित आदिम भयलाई पनि राम्रोसित बुझ्नु पर्छ । यसको वर्तमान स्वरूपलाई हेरेपछि यस्तो प्रतीत हुन्छ कि सायद यसको उद्भव वैदिककालभन्दा पूर्व कहिले भएको होला किनकि ईश्वरको ब्रह्मस्वरूपको परिकल्पना पछि आयो; जसमा त्यो मूर्तबाट अमूर्त स्वरूप ग्रहण गर्छ । पहिला त ईश्वरको प्रकट रूप यानि सूर्य, चन्द्र, आकाश, रुख र नदीका रूपमा पूजा गरिन्थ्यो । यीमध्ये मानव जीवनमा सूर्यको महत्व सबैभन्दा बढी छ किनकि प्रकाशको अस्तित्वबिना सबै थोक अपूरो र अपूर्ण मानिन्छ । उसको अभावमा विस्तारित अँध्यारो मानिसलाई आफ्नो मृत्युको प्रतीकको रूपमा प्रतीत भएको थियो होला । जीवनको अनुभव जसरी जसरी मानिसले सञ्चित गर्न थाले, त्यसरी त्यसरी सूर्यको प्रति एउटा विवेकसम्मत रबैया पनि विकसित हुँदै गयो । सूर्यप्रति आदरको भाव मानिसमा आजसम्म सञ्चित छ भने यो मानिस सामाजिक प्राणी भएको एउटा ठुलो प्रमाण हो । 

छठ पर्व र अर्को पर्वमा मुख्य भेद के छ भने अर्को पर्व आएपछि सम्पूर्ण मिथिलाञ्चलमा सामान्य किसिमबाट मनाउने परम्परा छ तर छठ पर्व कुनै न कुनै भाकलसँग सम्बन्धित छ ।  कुनै न कुनै भाकल गरेर यस पर्वको अनुष्ठान गरिन्छ । जुन घरमा व्रतबन्ध, विवाह, पूजाआजाको विशेष समारोह भएको हुन्छ अथवा हुनेवाला हुन्छ; त्यस घरमा यो विशेष आयोजनासाथ मनाइन्छ । घरमा कसैलाई नोकरी लागेको होस, या सन्तान प्राप्तिको सुअवसर होस् । यस्तै कुनै मङ्गल कार्य सम्पन्न भएको घरमा यस पर्वको आयोजना भव्य ढङ्गबाट गरिन्छ । यसविपरीत जुन घरमा कुनै नराम्रो घटना भएको छ भने त्यो घरमा यो पर्व सम्पन्न गरिँदैन । यस पूजाको प्रक्रिया एकदम जटिल छ । दुई दिनभन्दा बढी समयसम्म अन्न, जल ग्रहण नगरीकन यो पर्व मनाइने लामो परम्परा अचेल पनि विद्यमान छ । यस दौरान भगवान्लाई एक चोटि जलले र अर्को चोटि दुधले अर्घ प्रदान गरिन्छ । पहिलो दिन सूर्यास्तको समय र अर्को दिन सूर्योदयको दिन अर्घ प्रदान गर्ने गरिन्छ । यस पूजाको प्राणशक्ति यसको पवित्रता हुन्छ । यसमा पवित्रताको ध्यान यहाँसम्म राखिन्छ कि ससाना बच्चाले अञ्जानमा गल्ती गरे भने पनि उनीहरूलाई कुनै छुट दिइँदैन । यिनीहरूले गल्ती गरे भने दण्डस्वरूप कडाभन्दा कडा सजाय दिइन्छ । उनीहरूलाई सजायका रूपमा जाडोमा पनि चिसो पानीबाट स्नान गराइन्छ । बच्चाले प्रसाद छुनु हुँदैन । प्रसादलाई जुठो पनि गर्नु हुँदैन । यसका निम्ति पूरै सतर्कता अपनाइन्छ । बच्चाहरूले यस्तो नगरे पनि महिलाले आफ्ना गीतमार्फत छठ परमेश्वरीसँग माफी माग्ने गर्छन् । कठिन व्रत गर्ने नरनारी जसले कुनै भाकल गरेका छन् भने उनीहरू घरबाटै दण्डप्रणाम गर्दै घाटसम्म घस्रेर जान्छन् । यस्ता व्रतालुको बाटो अरूले सफा सुग्घर गर्दै जान्छन्, जसले गर्दा त्यो बाटो अपवित्र एवं अशुद्ध नहोस् । 

कस्तो मान्यता प्रचलित छ भने दुई साढे दुई दिनसम्म उपवासको व्रत राख्नाले व्रतालुको शरीर शुद्ध भइहाल्छ । अतः अरू मानिस व्रतालु र श्रद्धालुको चरण स्पर्श गर्छन् । यस्तो मानिन्छ कि यी दिनमा उनको शरीरमा ईश्वरको बास हुन्छ र यस्तो स्थिति र शक्ति फेरि एक वर्षपछि मात्र फर्किन्छ । कतिपय व्रतालु त भावाकुल भएर रुन थाल्छन् र भगवान्प्रति आभार प्रकट गर्छन् कि निर्विघ्न यिनको व्रत सम्पन्न भएको छ ।

छठपूजामा मौसम अनुसारका सबै फलफूल, तरकारीका प्रकारको सहज उपलब्ध हुन्छ । सखरबाट निर्मित पकवान जस्तो खजुरी, ठेकुवा, भुसवा, कसार आदि मिष्ठान्न विशेष महत्वको मानिन्छ । फल र पकवानलाई डालोमा हालेर जलाशयसम्म पु¥याउने जिम्मेवारी पुरुषलाई दिइन्छ । छठ घाटमा कुनै प्रकारको भेदभाव गरिँदैन । जातपातको कुनै भेदभाव गरिँदैन । मुसलमानले पनि छठ व्रतको अनुष्ठानमा समान रूपले भाग लिन्छन् । सबैको डाली (पूजा सामग्री राख्ने बाँसद्वारा निर्मित टोकरी) र बाजागाजाबाट जलाशयको किनारमा त सङ्गीतमय वातावरण स्वतः सिर्जना भएको हुन्छ । पूजामा प्रयोग हुने फलका बारेमा पनि विशेष ध्यान राखिन्छ कि यो जुठो नहोस् । प्राकृतिक रूपबाट पनि यो विकृत र अशुद्ध नहोस् । 

प्रत्येक वर्ष कात्तिक र चैतमा शुक्लपक्षको षष्ठी तिथिमा सम्पन्न हुने यस पर्वलाई जनजिब्रोमा छठ नाम प्रदान गरिएको छ । यसको पूजाआजा, उपासना–आराधनाका साथ सूर्य पूजनोत्सव गरिन्छ । यो अतुलनीय आस्थाको प्रतीक हो । सूर्यको प्रति मिथिलावासीको अविचल आस्थाको कारणले छठ पर्वको बिचमा के तादात्म्य सम्बन्ध छ ? सूर्य पूजालाई छठ किन भनिएको छ ? यस सन्दर्भमा कतिपय कथा प्रचलित छन् । पुराण तथा उपनिषद्मा पनि कतिपय कथा वर्णित छन् । सबै कथा तथा भिन्न भिन्न कालका देवीदेवतासँग सम्बन्धित छन् । यी सबैमा एकरूपता नहुनको कारणले यस निष्कर्षमा पुग्नु कठिन छ कि कुन कथा काल्पनिक हो र कुन कथा साँचो तर यी सबैको सूक्ष्म अध्ययनपछि यो निष्कर्ष निकाल्न सजिलो हुन्छ कि यो पर्व वर्षमा दुई चोटि मनाइन्छ । छौ छौ महिनामा र षष्ठी तिथिमा अनुष्ठित भएका कारण नै यसलाई छठ भनिन्छ । छठ संस्कृत शब्द ‘षष्ठ’ को अपभ्रंश हो । वर्षमा दुई चोटि सम्पन्न हुने छठ पूजनलाई पनि दुई नाम दिइएको छ । कात्तिक महिनामा सम्पन्न हुने कार्तिकी छठ र चैत महिनामा हुनेलाई चैती छठ भनिन्छ । छठ चाहिँ कार्तिकी होस् कि चैती; यसमा पूजाअर्चना विधिविधानमा धेरै ठुलो अन्तर हुँदैन । जुन घरमा यस व्रतको अनुष्ठान गरिन्छ त्यसमा कात्तिक महिनाभरि र चैत महिनाभरि मासु पाक्दैन । यस पर्वमा महिलाको भूमिका धेरै महत्वपूर्ण हुन्छ । सूर्यको आराधनाबाट चर्म र कुष्ठरोग निवारण भएको प्रामाणिक धारणा भएकाले अनेक चर्मरोगीले यस व्रतको अनुष्ठान लिने गर्छन् । यसको सङ्कल्प गर्ने गरिन्छ । यसमा धर्मले पनि कुनै बाधा व्यवधान प्रस्तुत गर्दैन । यो पर्व एकता र भाइचाराको पर्व हो । टोलभरिका मानिस पारस्परिक ईष्या, द्वेष र वैरभाव बिर्सेर यस पर्वको अनुष्ठानमा सरिक हुन्छन् । सामूहिक रूपमा गाउँभरिको सरसफाइ गरिन्छ । शुद्धता र पवित्रताले गर्दा सम्पूर्ण गाउँको पर्यावरण प्रदूषित हुन पाउँदैन । यस्तो धारणा लोक जीवनमा प्रचलित छ कि अलिकति पनि अपवित्रताले सूर्य भगवान्लाई क्रुद्ध गराउन सक्छ । कुपित गर्न सक्छ । कुनै न कुनै अनिष्टको आशङ्का सहजै गर्न सकिन्छ यस्तो स्थितिमा । यहाँसम्म कि पूजन सामग्री तयार गर्नका लागि पुरानो चुलो पनि परित्याग गरिन्छ । नयाँ नयाँ चुलोको जोहो गर्न सबै घरपरिवार लाग्ने गर्छन् ।

सूर्यप्रतिको अद्वितीय एवं अतुलनीय आस्थाको महान् पर्व छठको एक मात्र उद्देश्य हुन्छ पवित्र हृदयले सूर्यको आराधना एवं अर्चना । सूर्य जसलाई ऊर्जाको अपार भण्डार मानिन्छ । यो ज्योतिपुञ्ज, रश्मिपुञ्ज र आलोकपुञ्ज  सूर्यको आराधना गरेर यसप्रति व्रतालु आफ्नो असीम आस्था, अपूर्व विश्वास र निष्ठा तथा आभार अभिव्यक्त गर्छन् । सूर्य हुन त सम्पूर्ण विश्वका आराध्यदेव हुन् तर भगवान्का रूपमा पूजाआजा गर्ने परम्परा अद्यापि विद्यमान छ ।  

लेखक बाट थप