• २८ पुस २०८१, आइतबार

खुदी सबस्टेसन अन्तिम चरणमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१, धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजना अन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । 

धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, एक सय एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभयो । साथै उहाँले धारापानी क्षेत्रका स्थानीय बासिन्दासँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । 

मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजना अन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई भेटी खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।